धरान । धरान–१३ नम्बर वडामा कोरोना संक्रमित देखिएसँगै वडाले वडाका सबै टोलतिर सेनिटाइजर गरिरहेको छ ।

आइतबारदेखि जारी सेनिटाइजर अझै केही दिनसम्म जारी राखिने धरान १३ का वडाध्यक्ष नेत्र काफ्लेले जानकारी दिए । उनका अनुसार हालसम्म शिवधारा, अमरहाट कृषि बजार, देवीमार्ग, सुम्निमा, जानकी चोक, जनजागृति, फुस्रे, अनाम टोललगायत क्षेत्रमा सेनिटाइजर भइसकेको छ । 

धरान १३ मा १६ वटा टोल विकास संस्था रहेका छन् । कतिपय टिएलओले स्वस्फूर्त रूपमा सेनिटाइजर गरिरहेका छन् । कतिपय क्षेत्रमा टिएलओ निस्क्रिय रहेकाले ती क्षेत्रहरूमा वडाध्यक्षले नै सेनिटाइजर गरिरहेका छन् । गत बिहीबार धरान १३ मा एक ५१ वर्षीया महिलामा कोरोना संक्रमित भएको पुष्टि भएको थियो । 

कोरोना संक्रमित भएको थाहा पाउने बित्तिकै त्यो क्षेत्रमा सिल गरिएको थियो भने संक्रमितलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा पठाइएको थियो ।