धरान । धरान मुस्लिम समाजले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा रहेका २५ जनालाई ईद–उल–फित्रको अवसरमा बिरयानी प्रदान गरिएको छ  ।

धरानको कोभिड अस्पतालमा २५ जना मुस्लिम युवाहरूलाई राखिएको छ । कोरोना संक्रमित अयुव मियाँले ईदको दिन खीर खाने अपेक्षा गरेपछि बीपी प्रतिष्ठानका मेडिसिन विभागका विभागीय प्रमुख प्रा.डा. सञ्जीवकुमार शर्माले धरान मुस्लिम समाजका सदस्य समेत रहेका मोहम्मद सागिरलाई जानकारी गराएका थिए । सागिरकै पहलमा समाजले तीन जनाको घरबाट संकलन गरेर अस्पतालमा रहेका २८ जनालाई वितरण गरिएको समाजका संयोजक फिरोज अलीले जानकारी दिए । 

नेपाल मुस्लिम संगठनका उपाध्यक्षसमेत रहेका अलीले आफ्ना मुस्लिम दाजुभाइ तथा गैर मुस्लिमहरूलाई बिरयानी, चिकन, सेबइ, पुलाउलगायतका सामग्री दिइएको बताए । उनका अनुसार समाजका आमन्त्रित सदस्य गुलबहार, सागिर र स्वयम् आफ्नै घरबाट संकलन गरेर बिरयानी वितरण गरिएको छ । यसक्रममा अस्पतालका सहायक अस्पताल निर्देशक डा. दिलिप ठाकुर, प्रा.डा. सञ्जीवकुमार शर्माले समाजलाई धन्यवाद ज्ञापन गरेका थिए । ईदको शुभकामना दिँदै कोरोना संक्रमितहरूलाई चाडका बेला सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरे ।