राजविराज । भारतको विभिन्न सहरबाट घर फर्किनेको संख्या तीव्र बनेको छ । यसैक्रममा आइतबार सप्तरीको विभिन्न नाकाबाट ६ महिलासहित ६८ जना जिल्ला प्रवेश गरेका छन् ।

सबैलाई नजिकैको क्वारेन्टिनमा राखिएको छ । ७ दिनको अवधिमा सप्तरीको विभिन्न नाका हुँदै जिल्ला प्रवेश गर्नेको संख्या ७८९ पुगेको छ । जसमध्ये ५३ जना महिला छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जिल्लामा कुल ३३ वटा क्वारेण्टाइन केन्द्र निर्माण गरिएको छ । 

सबैलाई १४ दिनसम्म क्वारेन्टिनमा पठाइएको छ । लामो समय सीमामा नागरिक अलपत्र पर्दा अवैध रूपमा प्रवेश गर्ने र थप संक्रमण फैलिन सक्ने भन्दै सावधानी अपनाएर सरकारले जेठ ४ गतेदेखि नागरिकलाई प्रवेश दिन सुरु गरेको हो । यद्यपि क्वारेन्टिनमा १४ दिन बस्नु पर्ने भएकाले केही अझै खुला सीमाको फाइदा उठाउँदै लुकीछिपी चोर बाटो हुँदै प्रवेश गर्ने गरेको र त्यस्ताले भविष्यमा आफू र अरूलाई पनि समस्यामा पार्ने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवको चिन्ता छ ।

‘भारतबाट जिल्लाका मुख्य नाकाहरूबाट अझै घर फर्किने क्रम जारी छ’ उनले भने, ‘उनीहरूलाई सोझै घर नपठाई क्वारेन्टिनमा राख्ने गरेका छौं ।’