धरान । मुस्मिल समुदायको महान पर्व रमदान महिना सकिएको खुशियालीमा आज ‘इद–उल–फित्र’ मनाउँदै छन् ।

सरकारले आज सार्वजनिक विदासमेत दिएको छ । मुस्लिम समुदायले यो रमदान महिनाभरि कठोर ब्रत बस्ने गरेका छन् । एक महिनासम्म लामो ब्रत बसेपछि इद–उल–फित्र पर्व मनाउने गरिएको छ । हिजरी संवतको रमदान महिना इस्लाम धर्मावलम्बीको सौब्बाल महिनाको पहिलो तारिखका दिन ईद मनाउने परम्परा रहेको छ । 

चन्द्रमाको गतिका आधारमा ईद पर्व मनाइने गरिन्छ । सरकारले आइतबार नै ईदको बिदा दिए पनि चन्द्रमा नदेखिएपछि बिदा सच्याएर सोमबार बनाएको हो । भूगोलअनुसार फरकफरक समयमा ईद पर्ने गरेको छ । ईदका दिन एकअर्कोबीच सद्भाव कायम राख्ने र सत्कर्म गर्ने प्रेरणा प्राप्त गर्दछन् । विशेष गरी इस्लामको मुख्य धार्मिक ग्रन्थ कुरानमा सद्विचार र सत्कर्म गर्न प्रेरित गरेको छ । 

ईदको दिन मोल्वी (धर्मगुरु) ले कुराना वाचन गर्ने गरेका छन् । ईदका दिन एकअर्काबीच शुभकामना साटासाट गर्नेदेखि लिएर आफ्नाआफन्तकहाँ भेटघाट गर्ने चलन पनि रहेका छ । यो दिन नयाँ पोसाक पहिरिने र सेवइलगायत मिष्ठान भोजन खाने गरेका छन् ।

यस दिन मस्जीदमा भेला भएर नमाज पढ्ने परम्परा रहे पनि यसपटक कोरोना भाइरसको जोखिका कारण घरघरमै नमाज पढेर ईदको खुशीयाली साटासाट गर्ने नेपाल मुस्लिम आयोगका जिल्ला सदस्य फिरोज अलीले जानकारी दिए ।