धरान । इद उल फित्रको अवसर पारेर धरानको धरान मुस्लिम समाजले सुनसरी र मोरङका विभिन्न स्थानमा पुगेर ‘इद राहत प्याकेज’ वितरण गरेको छ ।

चौथो चरण अन्तर्गत रमजानको एक महिने लामो ब्रत पूरा गर्दै समाजले सुनसरीको धरान, इटहरी र मोरङ सुन्दरहरैँचाका १२९ परिवारलाई राहत प्याकेज वितरण गरेको हो । उनीहरूलाई इद उल फित्रका लागि विरयानी चामल, सेबई, चिनी, मासु वितरण गरिएको छ । धरानको ८६ परिवारलाई, इटहरी–१ हाँसपोसाका २५ परिवार र सुन्दरहरैँचा–५ का १८ परिवारलाई राहत प्याकेज दिइएको समाजका संयोजक फिरोज अलीले जानकारी दिए ।

भोलि इद उल फित्र पर्छ । तीन दिनसम्म मुस्लिम समुदायले इदको शुभकामना आदानप्रदान गर्ने गरेका छन् । मुस्लिम समुदायको ठूलो चाडको रूपमा रहेको इद उल फित्रमा एक महिनासम्म निराहार ब्रत बस्ने परम्परा रहेको छ । यसैबीच तेस्रो चरण अन्तर्गत ४० जना टेलरिङमा कार्यरत मजदुरहरूलाई राहत प्याकेज वितरण गरिएको सहसंयोजक समिम सोहनले जानकारी दिए ।

विभिन्न संस्था तथा व्यक्तिको सहयोगमा सामग्री प्रदान गरिँदै आएको छ । पहिलो चरणमा १५० परिवारलाई, दोस्रो चरणमा १५० परिवारलाई खाद्यान्न वितरण गरिएको सदस्य मोहम्मद जफिरले जानकारी दिए । उनीहरूलाई अतिविपन्न मुस्लिम तथा गैरमुस्लिमहरूलाई पनि सहयोग गरिएको छ । संस्थामा रहेका गुलबहार, मोहम्मद सगीरलगायतले पनि सहयोग जुटाउनका लागि भूमिका खेल्दै आइरहेका छन् । 

अली विगत १० वर्षदेखि नेकपामा आवद्ध छन् भने उनी मुस्लिम संगठनको संस्थापक उपाध्यक्ष पनि हुन् । मुस्लिम आयोगको जिल्ला सदस्यसमेत रहेका छन् ।