पथरीशनिश्चरे ।  भारत लगायतका देशबाट घर फर्किनेहरुबाट कोरोना भाइरसको जोखिम बढ्न नदिन र घर फर्किनेहरुलाई पनि सुरक्षित बनाउन मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले खडा गरेको ‘होल्डिङ एरिया’ मा बिहीबार ४ जनालाई राखिएको छ ।

नगर कार्यपािलकाको निर्णय अनुरुप नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको व्यवस्थापनमा पथरी बहुमुखी क्याम्पसमा स्थापना गरिएको ‘होल्डिङ एरिया’ मा भारतबाट आएका नगरवासीलाई राखिएको नगर प्रमुख दिलीपकुमार राईले जनाए ।

उपचारका लागि सिलिगुडीस्थित बाघडोग्रा गएका पथरी शनिश्चरे १ का २ जना र रोजगारीका लागि कालेङपोङ गएका २ जना गरी ४ जना पुरुषलाई प्रारम्भिक रुपमा त्यहाँ राखिएको हो ।

भारत लगायतका देशबाट नेपाल फर्किएकाहरुका लागि कोरोना संक्रमणबाट जोगाउने योजनामा खाना र सुरक्षित बसोबासको प्रवन्ध गर्दै हाललाई होल्डि एरियामा १५ वटा बेड राखिएको छ । त्यसरी घर आउनेहरुलाई क्वारेन्टाइनमा जानु अघि सुरक्षित रुपमा छुट्टै राख्न सरकारको योजना अनुरुप नगरपालिकाले पनि ‘होल्डिङ एरिया’ खडा गरको हो । ‘होल्डिङ एरिया’ बाट क्वारेन्टाइनमा पठाएर आवश्यक अनुरुपको स्वास्थ्य चेकजाँच गराइन्छ ।

कोरोना संक्रमण बढ्न सक्ने कुरालाई ध्यान दिएर नगरले जेठ ७ देखि १० गतेसम्मका लागि औषधि पसल बाहेकका सम्पूर्ण पसल वन्द गराएको छ । नगरले प्रहरी र प्रहरीको साथी म मार्फत आफ्नो नगरको सिमा क्षेत्रमा आवत जावतमा कडाई गर्दै लकडाउनलाई थप कडा बनाएको छ ।