भद्रपुर /  भारतीय नागरिकले सीमामा तैनाथ सशस्त्र प्रहरीको पोस्टमा आक्रमण गरेका छन् । उनीहरुले हवल्दार शङ्कर चौधरीलाई कुटपिट गर्दै आक्रमण गरेका हुन् । कोरोना भाइरसको उच्च जोखिममा रहेको दक्षिणी झापाको कचनकवलमा फेरि भारतीय नागरिकले सीमामा सुरक्षाकर्मीमाथि आक्रमण गरेका हुन् । कचनकवल गाउँपालिका– १ घेराबारीस्थित समरभिट्टा बस्तीदेखि पूर्वमा रहेको १२२ नम्बर पिलर नजिकै सशस्त्रको अस्थायी पोस्ट राखिएको छ । पोस्टमा सशस्त्रका हवल्दार चौधरीसहित पाँच जना खटिएका थिए । पारी भारतीय बस्ती गिलाबारी पर्छ ।

नेपाली भूमिमा प्रवेश गरेका भारतीय नागरिकलाई सीमा तैनाथ सशस्त्र प्रहरीले रोक्न खोज्दा उनीहरूले आक्रमण गरेको पाइएको छ  । तर सशस्त्र प्रहरी विओपी केचनाका इन्सपेक्टर लोकबहादुर तामाङले भने केही नभएको दाबी गरे ।  घट्ना भएको केहीबेरपछि ब्लाष्टकर्मीले तामाङलाई फोन सम्पर्क गर्दा ‘घेराबारीको इन्सपेक्टर र म सगै छौँ’ ‘यहाँ केही भएको छैन हामी त्यही पिलरमा(१२२) छौँ’ भन्ने जवाफ दिएका थिए ।  

त्यहाँका ५/७ जना भारतीय नागरिक शुक्रबार बिहान साढे ९ बजे नेपाली भूमिमै आएर घाँस काटेर फर्किन लाग्दा सशस्त्र प्रहरीले सीमामै रोकेर उनीहरूलाई नेपाल प्रवेश नगर्नु भनी सम्झाएका थिए । किन सम्झाएको भन्दै भारतीय नागरिकले सशस्त्र प्रहरीलाई गालीगर्लौच गर्दै एक्कासि बाँसको भाटाले सशस्त्रका हवल्दार चौधरीको टाउकोमा प्रहार गरेका थिए ।

सोही क्रममा दुवै पक्ष बिच सामान्य झडप भएपछि थप ५० देखि ६० जनाको भारतीय नागरिकको हुल आएर आक्रमणको प्रयास गर्न खोजेको गाउँपालिका ३ नम्बर वडा अध्यक्ष विजय राजवंशीले जानकारी दिए । उनका अनुसार भारतीय नागरिकले सशस्त्रका हवल्दार चौधरीलाई बाँसले प्रहार गरी कुटपिट गर्दा उनको हात र टाउकोमा चोट लागेको छ ।

घट्नापछि तीन सय बढी नेपाली नागरिक प्रतिकार गर्न सीमामा पुगेका थिए । सीमा पुगेपछि भारतीय नागरिक त्यहाँबाट भागेका थिए । घटना हुन बित्तिकै थप नेपाली सुरक्षाकर्मी घटनास्थल पुग्नुका साथै भारतीय एसएसबी पनि आइपुगेका थिए । 
घटना पश्चात् नेपाल र भारत दुवै देशका सुरक्षाकर्मी, जनप्रतिनिधिसहितको दशगजामा बैठक बसी आइन्दा फेरि यस्तो घटना नदोहोरिने भारतीय पक्षले प्रतिबद्धता जनाएको सशस्त्र प्रहरी बल गण नम्बर २ झापाका एसपी रेशमकुमार थक्सूले बताए । 

यही जेठ ३ गते बेलुका पनि गाउँपालिका १ घेरावारीस्थित १२५ र १० नम्बर पिलरको सुरिभिट्टा—झण्टुबस्ती नजिकैको अस्थायी सशस्त्र प्रहरीको पोस्टमा भारतीय नागरिकको जत्थाले सशस्त्र प्रहरीमाथि आक्रमण गरेका थिए । भारतीय नागरिकले आक्रमण गरेपछि गाउँवासीसहित सशस्त्र प्रहरी प्रतिकार उत्रिएपछि उनीहरू भागेका थिए । आक्रमणबाट बच्न सशस्त्र प्रहरी एक राउन्ड हवाई फायर समेत गरेका थिए । यसअघि पनि कचनकवलको घेराबारी चमारभिट्टा र केचनाको खुट्टामनि सीमामा पनि सशस्त्र तथा नेपाल प्रहरीमाथि भारतीय नागरिकले आक्रमण प्रयास गरिसकेका छन् ।