पथरी शनिश्चरे /  सवैतिर कोरोना भाइरसको जोखिम बढेपछि नगरमा त्यसको जोखिमलाई न्यूनिकरण गर्ने एउटा उपायका रुपमा मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले १० बेडको ‘होल्डिङ स्थल’ बनाउने भएको छ ।

नगरस्तरीय कोरोना भाइरस जोखिम न्यूनिकरण समन्वय समितिको विहीवारको बैठकले पथरी बहुमुखी क्याम्पसमा १० बेडको होल्डिङस्थल बनाउने निर्णय गरेको नगर प्रमुख एवम् समन्वय समिति संयोजक दिलीपकुमार राईले जनाए ।

नगर कार्यपालिकाको बुधबारको बैठकले नेपाल बाहिरबाट आएकाहरुकालागि क्वारेन्टाइनमा जानु अघि तत्काल छुट्टै र सुरक्षित राख्नका लागि होल्डिङ स्थल बनाउने निर्णय गरेको थियो । सोही अनुरुप समन्वय समितिले क्याम्पसको कोठालाई १० वटा बेडका रुपमा होल्डिङ स्थल बनाउने निर्णय गरेको हो ।

कोरोना संक्रमण बढ्न सक्ने कुरालाई ध्यान दिएर नगरले बुधबारदेखि १० गतेसम्मका लागि औषधि पसल बाहेकका सम्पूर्ण पसल वन्द गराएको छ । नगरको सिमा क्षेत्रमा कडाई गर्दै लकडाउनलाई थप कडा बनाएको छ ।