भद्रपुर/पूर्वी दक्षिणी झापाको कचनकवल गाउँपालिकामा कोरोना सङ्क्रमणको आशङ्का गरिएका व्यक्ति राख्न निर्मित क्वारेन्टाइन व्यवस्थापनमा लापरवाहीकै कारण सङ्क्रमितको सङ्ख्या बढ्दै गएको स्थानीयले गुनासो गरेका छन् ।

कचनकवलमा भारतलगायत देशबाट आउने व्यक्तिलाई राख्न निर्मित क्वारेन्टाइन मा भीडभाड बढेपछि त्यहाँ रहेका व्यक्तिमा कोरोना सङ्क्रमण जोखिम बढेको हो ।

कचनकवलका पाठामारी, केचना, घेराबारीलगायतका विभिन्न नाकाबाट मानिस प्रवेश गर्ने गरेका छन् । भारतबाट लुकीछिपी आउनेलाई सुरक्षाकर्मीले सिधै क्वारेन्टाइनमा लैजाने गरेको छ ।

तर, गाउँपालिकाले निर्माण गरेका क्वारेन्टाइन भवनहरू व्यवस्थित नभएकै कारण कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गएको छ ।
पथरिया माविको क्वारेन्टाइनमा बसेका २३ वर्षीय एक युवामा सोमबार परीक्षणका क्रममा कोरोना सङ्क्रमण देखिएको थियो । मङ्गलबारको परीक्षण रिपोर्टले नयाँ ९ जना, वुधबार ५ जना र विहीबार विहान १० जना थपिएसँगै कचनकवलमा मात्र कोरोना सङक्रमितको सङख्या २५ पुगेको छ । सङ्क्रमित सबै १७ देखि ४६ वर्ष उमेर समूहका छन् । रोजगारीको सिलसिलामा भारत गएका उनीहरू लामो समय लकडाउन भएपछि पैदलै स्वदेश फर्किएका थिए ।

क्वारेन्टाइन व्यवस्थित नहुँदा सङ्क्रमण

नेपाल प्रवेश गरेका उनीहरूलाई गाउँपालिकाले विभिन्न क्वारेन्टाइनमा राखिएको कचनकवल गाउँपालिकाका क्वारेन्टाइन संयोजक तथा वडा नम्बर ३ का वडाध्यक्ष विजयकुमार राजवंशीले बताए । वडाध्यक्ष राजवंशीका अनुसार विद्यालयमा रहेको क्वारेन्टाइन व्यवस्थित नभए कै कारण सङ्क्रमित बढ्दै गएको उनले बताए । सङ्क्रमित १० जना एउटै कोठामा नअटेपछि उनीहरूलाई क्वारेन्टाइनमा बसेका अरूसँगै राखिएको वडाध्यक्ष राजवंशीले बताए । जसका कारण अरूमा पनि सङ्क्रमण सर्ने खतरा रहेको उनको भनाइ छ ।

एउटै शाैचालयकाे प्रयाेग

एउटा कोठामा नअटेपछि दुई जनालाई अरू सातजना भएको कोठामा राखेको उनले जनाए । सङ्क्रमित र अरू क्वारेन्टाइनमा बसेका सबैले प्रयोग गर्ने शौचालय समेत एउटै रहेको उनले बताए । जम्मा दुईवटा शौचालय रहेकोले सबैले एउटै शौचालय प्रयोग गर्दै आएको उनको भनाइ छ । स्थानीय तहमा विद्यमान बजेटले क्वारेन्टिन व्यवस्थित गर्न नसकिएको उनले बताए । केन्द्रले हेर्दैन, स्थानीय तहले मात्र के गर्ने ?’ राजवंशीले भने, ‘एउटै कोठामा १० जनासम्म राख्नुपरेको छ । यसले गर्दा पनि समस्या निम्तिएको छ । सिमावर्ती क्षेत्रका स्थानीय तहमा खुला सीमाबाट लुकिछिपी आउने नागरिकका कारण हैरान भएको उनले सुनाए ।

सामुहिक बसाइ

क्वारेन्टाइनमा रहेका मानिसको खानपान, बसोबास हेर्दा विवाह, व्रतबन्ध भोजमा सामेल भए जस्तो सामुहिक शैलिको देखिने गरेको छ । एक जना सङ्क्रमितका कारण सवै सङक्रमित हुनु पर्ने अवस्था क्वारेन्टिनबाटै निर्मित भएको व्यक्तिहरूको गुनासो छ । भारतसँग सीमा जोडिएको कचनकवलमा सङ्क्रमण देखिएपछि गाउँपालिका जेठ ११ गते सम्म शिल गरेको छ ।

पछिल्लो समय दैनिक ५० जनाको हाराहारिमा मानिस कचनकवल छिर्ने गरेको सशस्त्र प्रहरी विओपि केचनाका इन्स्पेक्टर लोकबहादुर तामाङले बताए । गत शनिबार यतादेखि बुधबार रातिसम्म २२४ जना प्रवेश गरिसकेको उनले जनाए । उनीहरुलाई सोझै व्यवस्थित तवरले विभिन्न्न क्वारेन्टाइनमा राखिएको उनले जानकारी दिए । जोखिम बढ्दै गए पनि सीमा क्षेत्रमा उच्च सुरक्षा अपनाइएको उनले जनाए ।