भद्रपुर । पछिल्लो समयमा झापाको कचनकवल गाउँपालिकामा कोरोनाको त्रास बढेसँगै बुधवार गाउँपालिकाका जनप्रतिनिधिसहित सर्वपक्षीय  बैठकले गाउँपालिकाका सात वटै वडा सिल गर्ने निर्णय गरेको छ ।  मङ्गलबार पाँच वटा वडा सिल गर्ने निर्णय गरिएकोमा बुधार पुरै गाउँपालिका जेठ ११ गतेसम्मका लागि सिल गर्ने निर्णय गरेको हो ।

अहिले गाउँपालिकामा छिमेकी स्थानीय तहबाट पनि कसैलाई प्रवेश गर्न दिइएको छैन, सम्पूर्ण पसलहरू पनि बन्द गरिएको छ  । अति आवश्यक सवारीसाधन बाहेक मोटरसाइकलसमेत बन्द गरेको गाउँपालिकाले जनाएको छ । सिल गराउनेमा स्थानीय प्रहरी प्रशासन र राजनीतिक दलहरूले पनि सहयोग गरेको छ । अति आवश्यक कामकाज बाहेक घर बाहिर ननिस्कन गाउँवासी समक्ष पालिकाले अनुरोध गरेको छ  । भारतका विभिन्न क्षेत्रबाट केहीदिन अघि नेपाल छिरेका मध्ये हालसम्म १० जना सङ्क्रमित पुष्टि भइसकेका छन् । हाल गाउँपालिकाका क्वारेन्टाइनमा १६५ जना बसेका छन् ।

 छिमेकी पालिकामा कोरोना सङ्क्रमित देखिएपछि भद्रपुर नगरपालिकाले सूचना जारी गरी कचनकवल गाउँपालिका नजान र जानै परे फर्केर नआउन नगरवासीलाइ अनुरोध गरेको छ । कोरोनालाइ फैलन नदिन सूचना जारी गरिएको  मेयर जीवन कुमार श्रेष्ठले बताए । यता कचनकवल कै छिमेकी हल्दीबारी गाउँपालिकाले भने अपरान्ह् (आज) वैठक वसेर धारणा सार्वजानिक गरिने पालिका उपाध्यक्ष डम्बर बहादुर गिरीले जानकारी दिए ।