भद्रपुर ।  झापाको कचनकवलको सीमा क्षेत्रमा आज (बुधबार) पनि ५० जना आएर बसेको जानकारी प्राप्त भएको छ । केचनामा ३५ र घेराबारी नाकामा १५ जना रहेको प्रहरी स्रोतले जनाएको छ । उनीहरू भारतको विभिन्न राज्यबाट घर फर्किएका हुन् ।

उनीहरूलाई पनि सिधै क्वारेनटाइनमा ल्याएर राखिने पालिका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले बताए । बनियानीमा रहेको लक्ष्मी माविमा पनि एक सय बेडको क्वारेनटाइन बनाउने विषयमा तयारी भइरहेको उनले बताए ।

मङ्गलबार भारतबाट ८० जना नेपाली नागरिक स्वदेश फर्किएका थिए । पाठामारी नाकाबाट २३ र केचना नाकाबाट ५७ जना नेपाली नागरिक गाउँपालिकामा प्रवेश गरेको स्वास्थ्य शाखा प्रमुख यादवले जानकारी दिए । उनीहरूलाई ल्याएर सोजै क्वारेनटाइनमा राखिएको छ ।

मङ्गलबार जानकी आधारभूत पाठामारी र महेन्द्ररत्न मावि केचनामा थप क्वारेनटाइन निर्माण गरिएको छ । गाउँपालिकामा १६५ जना क्वारेनटाइनमा छन भने १० जना कोरोना सङ्क्रमित पुष्टि भइ कोशी अस्पताल विराटनगरमा उपचाररत छन् ।