भद्रपुर । भारतीय सीमावर्ती नाकासँग जोडिएको दक्षिणी झापाको कचनकवल गाउँपालिका पाँच वटा वडा शिल गरिएको छ ।
कचनकवलका क्वारेनटाइनमा बसेकामध्ये १० जनालाई कोरोना सङ्क्रमण देखिएपछि सो पालिकाका वडा शिल गरिएको हो ।
सोमबार एक जना र मङ्लबार ९ जनामा कोरोना देखिएपछि गाउँपालिकाले सो निर्णय लिएको पालिका अध्यक्ष अञ्जरा आलमले बताए ।
गाउँपालिकाभित्र सात वटा वडा रहेका छन् । त्यसमध्ये ५ वटा वडा भारतसँग जोडिएको छ । भारतसँग जोडिएको पाँच वटै वडा शिल गरिएको उनले बताए । गाउँपालिकाको १, २, ३, ४ र ५ नम्बर वडा शिल गरिएको उनको भनाइ छ । शिल गरिएका वडाहरू भारतसँग जोडिएकोले त्यहाँबाट लुकिछिपी नेपाली नागरिक भित्रिन नदिनका लागि शिल गरिएको उनले जनाए ।
झापाका प्रमुख जिल्ला अधिकारी, सासद्, जनप्रतिनिधि, राजनीतिक दलसँग छलफल गरेर यस बारेमा थप निर्णय गरिने उनको भनाइ छ ।
यता गत शनिबार भारतको मुम्बई र दिल्लीबाट आएका ३३ जना नेपाली नागरिकलाई पथरिया माविमा बनाइएको क्वारेन्टाइनमा राखिएको अवस्थामा मङ्गलबारसम्म १० जनाको रिपोर्ट पोजेटिभ आएपछि सो क्वारेनटाइन शिल गरिएको छ ।
उनीहरू सबैको स्वाब पीसीआर परीक्षणका लागि कोशी अस्पताल विराटनगर पठाइएकोमा १० जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । अरूको रिपोर्ट पनि आउने क्रममा छ । पोजेटिभ देखिएका उनीहरू १७ वर्षका २ जना, १९ वर्षका ३ जना, २५ वर्षका २ जना, २३ ,२४ र ३० वर्षका एक–एक जना रहेका छन् । उनीहरू सबै कचनकवलवासी हुन् ।
त्यसै गरी अब भारतबाट आउने नागरिकलाई अन्यत्र राखिने तयारी भइरहेको छ । त्यसका लागि केचनाको महेन्द्ररत्न माविमा एक सय बेडको थप क्वारेन्टाइन बनाउने काम शुरु भइसकेको छ । पथरिया माविमा ३३ र लक्ष्मीप्रसाद देवकोटा माविको क्वारेन्टाइनमा एक महिला गरी ६४ जना रहेका छन् । जम्मा गाउँपालिकामा ९७ जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।
उनीहरू सबै भारतका विभिन्न राज्यबाट रेल, ट्रक चढेर आएका हुन् । उनीहरू सबैको स्वास्थ्यकर्मीको टोलीले स्वाब सङ्कलन गरिरहेको छ ।