उर्लाबारी/कोरोना भाइरस नियन्त्रणलाई तथा लकडाउनलाई प्रभावकारी बनाउन उर्लाबारी नगरमा बाहिरबाट आयात हुने सम्पूर्ण तरकारीजन्य सामाग्रीमा रोक लाग्ने भएको छ ।
मंगलबार नगर प्रमुख तथा विपद् व्यवस्थापन समितका संयोजक खड्ग फागोको अध्यक्षतामा बसेको बैठकले जेठ ७ गतेदेखि लकडाउन अवधिसम्मको लागि बाहिरबाट आयात हुने सब किसिमका तरकारीको चेकजाँच नहुने भएको हुँदा कोरोनाको संक्रमण फैलिन सक्ने सम्भावना भएकोले नागरिकको सुरक्षाको लागि उक्त निर्णय गरिएको हाे ।
साथै बैठकले क्यारेनटाइनको क्षमता वृद्धिसँगै संक्रमण चेकजाचको लागि स्वाबको नमुना संकलन गर्ने उपकरण खरिद गरी पिसीआर गर्ने एवं कोरोना नियन्त्रणलाई प्रभावकारी बनाउन अस्थाई रुपमा नगर प्रहरी नियुक्त गर्ने समेत निर्णय गरिएको उपप्रमुख लक्ष्मीदेवी भण्डारीले बताइन् ।
यसै गरी पास नभएका सवारीका कारण बजारमा भिड बढेकोले पास नभएका सबै किसिमका सवारीहरुलाई ४८ घण्टा नियन्त्रण लिने र नियन्त्रण गरीएको सवारीहरूलाई नगरपालिकाको भवन परिसरमा राखिने समितिका सदस्य एवं इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर सुवास राईले बताए ।