धरान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) लाई दिँदै आएको आर्थिक सहायता रकम रोक्नका लागि प्रशासनलाई निर्देशन दिएको खबर बाहिरिएको छ ।

केही दिनअघि मात्रै डब्ल्युएचओप्रति रोष व्यक्त गर्दै ट्रम्पले आर्थिक सहायता रकम रोक्ने चेतावनी दिएका थिए । उक्त चेतावनी दिएको एक साता नबित्दै राष्ट्रपति ट्रम्पले प्रशासनलाई निर्देशन दिएको खबर बाहिरिएको हो । अब भने डब्ल्युएचओले प्राप्त गर्दै आएको आर्थिक सहायता रकम रोकिने निश्चित भएको हो । अमेरिकाले डब्ल्युएचओलाई झण्डै वार्षिक ४० करोड रुपैयाँ आर्थिक सहायता गर्दै आएको थियो । यो डब्ल्युएचओलाई प्राप्त हुने कुल रकमको १५ प्रतिशत हो ।

कोरोना भाइरसको संक्रमण फैलिरहेको समयमा नै डब्ल्युएचओमाथि ट्रम्पले गम्भीर आरोपसमेत लगाएका छन् । उनले डब्ल्युएचओले न्यूनतम दायित्व पूरा नगरेको बताए । उनले चीनमा कोरोना देखिएपछि संक्रमणसम्बन्धी विषयलाई लिएर सही ढंगले व्यवस्थापनसमेत नगरेको आरोप लगाए । उनले उल्टै घटनालाई ढाकछोप गर्ने तरिकाले डब्ल्युएचओ प्रस्तुत भएको गम्भीर आरोप लगाएका छन् ।

उनले नियमितको प्रेस सम्मेलनमा अमेरिका कोरोनासँग जुध्न सक्षम रहेको दाबी गरेका छन् । तर, उनले यस्तो दाबी गरिरहँदा अमेरिकामा मात्रै २५ हजार २३९ जनाको मृत्यु भइसकेको छ भने ५ लाख ९२ हजार ७४३ जना संक्रमित छन् । यसले पनि ट्रम्पको दाबी फिक्का परेको छ । कोरोनाबाट विश्वभर मर्ने दरमा सबैभन्दा बढी अमेरिकामा रहेको छ । त्यसपछि मात्रै इटाली रहेको छ ।

अहिले अमेरिकामा ट्रम्पको खुलेर आलोचना भइरहेको छ । ट्रम्पले यो महामारीलाई रोक्नका लागि खास कदम नचालेको अमेरिकी जनताकै आरोप रहेको छ । उनी सन् २०२० मा पुनः राष्ट्रपतिका लागि चुनावमा भिडन्त गर्ने तयारीमा थिए । तर, कोरोना महामारीका कारण राष्ट्रपतीय चुनाव समेत प्रभावित हुने सम्भावना बढेको छ । यही अवस्था रही रहेमा अमेरिका कोरोनाको इपिसेन्टर बन्ने पक्का छ ।

कोभिड १९ को महामारी विश्वव्यापी फैलिएपछि हामीले अमेरिकी उदारताको उत्कृष्ट सदुपयोग भए वा नभएकोबारे हाम्रो गहिरो चासो रहेको ट्रम्पकोभनाईथियो ।  चीनको वुहान शहरमा पहिलो पटक कोरोनाभाइरस देखिएपछि त्यसबारे पर्याप्त लेखाजोखा गर्न डब्ल्यूएचओ विफल भएको ट्रम्पले आरोप लगाए।

उनले भने, ‘के अवस्थाको वस्तुगत लेखाजोखा गर्नका निम्ति डब्ल्यूएचओले चीनमा चिकित्सा विज्ञहरूको टोली पठायो र चीन पारदर्शी नभएकोबारे कुरा उठायो ।'  उसको स्रोतसाधनबाट कम मानवीय क्षतिमा कोरोनाभाइरसलाई नियन्त्रण गर्न सकिन्थ्यो ।'  ट्रम्पले पत्रकारहरूलाई भने। ‘त्यसो गरिएको भए विश्वव्यापी आर्थिक क्षतिलाई रोक्न सकिन्थ्यो। तर त्यसो नगरेर डब्ल्यूएचओले चीन सरकारका कदमहरूको प्रतिरक्षा गर्‍यो।’– उनले भने ।