धरान । पाकिस्तान सरकारले कोरोनाभाइरसलाई नियन्त्रण गर्नका लागि सेना परिचालन गरेको छ ।

सरकारले विभिन्न नाकाहरूमा सेना परिचालन गरेको हो । सेनाहरूले अहिले सीमा नाकाहरूलाई पूणतया रोक लगाएको छ । पाकिस्तानमा शनिबारसम्म १ हजार ५ सय जनामा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ । शनिबार सरकारले कोरोनाको प्रभावलाई न्यूनीकरण गर्नका लागि सेना परिचालन गर्ने घोषणा गरेको थियो ।

सेनाका सार्वजनिक मामिलाका प्रवक्ता मेजर जनरल बाबर इफ्तिखारले शनिबार पत्रकार सम्मेलन गर्दै नागरिकको सहायताका लागि देशभरि नै तैनाथ गरिने बताए । उनले पाकिस्तानी सेनाको ऐनको अनुच्छेद २४५ अनुसार देशभरि नै तैनाथ गरिने जनाए । सेना परिचालन गर्ने विषयमा मार्च २३ गते अर्थात् गत सोमबार निर्णय गरेको थियो ।