विजयपुर । कोशी प्रदेशका विभिन्न जिल्लामा प्रहरीले लागूऔषध कारोबार तथा ओसारपसारमा संलग्न आठ जनालाई पक्राउ गरेको छ। प्रहरीले छुट्टाछुट्टै घटनामा १८२ किलोभन्दा बढी गाँजा, ब्राउन सुगर तथा प्रतिबन्धित औषधि बरामद गरेको जनाएको छ।
धरान–१४ विजयपुर डाँडाबाट प्रहरीले २३ वर्षीय रितेश राईलाई पक्राउ गरेको छ। भोजपुर घर भई विजयपुर डाँडामा कोठा भाडामा लिएर बस्दै आएका राईको कोठामा खानतलासी गर्दा ६३० ग्राम गाँजा, डिजिटल तराजु र गाँजा बिक्रीबाट प्राप्त भएको भनिएको ८ लाख ८७ हजार ७ सय रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
यसैगरी, उदयपुरको कटारी नगरपालिका–६ स्थित शिखर सामुदायिक वन क्षेत्रबाट प्रहरीले १८२ किलो गाँजा बरामद गरेको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले झाडीमा नौवटा प्लास्टिकका बोरामा लुकाएर राखिएको अवस्थामा उक्त गाँजा बरामद गरेको हो। घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
सुनसरी, धनकुटा र उदयपुरका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित थप सात जनालाई पक्राउ गरेको छ। सुनसरीको बराहक्षेत्र नगरपालिका–६ बाट अन्सु राईलाई ७ किलो ५०० ग्राम गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यस्तै, धरान–१६ का २४ वर्षीय कबिर सहनी, धरान–१४ का सुनिल दाहाल र धरान–१३ का सुचम्वर राईलाई १ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर तथा विभिन्न प्रतिबन्धित औषधिका १ हजार २०४ ट्याब्लेटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
धनकुटाको प्रहरी चौकी अखिसल्लाले शहीदभूमि गाउँपालिका–७ का २१ वर्षीय प्रगत राईलाई ५८० क्याप्सुल प्रतिबन्धित औषधिसहित पक्राउ गरेको छ। प्रहरी चौकी मूलघाटले भोजपुरका भोला राई र प्रविन राईलाई १ ग्राम २३० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ।
उदयपुरको इलाका प्रहरी कार्यालय रामपुरले बेलका नगरपालिका–४ मा शंकास्पद अवस्थामा बा।६२ प ११८२० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा २ ग्राम ७२० मिलिग्राम ब्राउन सुगर र १ हजार ५३० क्याप्सुल प्रतिबन्धित औषधि फेला पारेको जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको छ।