विराटनगर । सूचना प्रविधि (आईटी) क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने र सफ्टवेयर विकास गर्ने भन्दै व्यावसायिक भिसामा नेपाल बसेका एक चिनियाँ नागरिक विराटनगरबाट पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका–७ स्थित सेन्ट्रल मलभित्र ६ वटा सटर २ लाख रुपैयाँ मासिक भाडामा लिएर ‘योनो मार्ट’ मा विना बिल कारोबार गरेको आरोपमा मोरङ प्रहरीले चिनियाँ नागरिक जिङ्सियान सिएलाई बुधबार पक्राउ गरेको हो । मोरङ वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त अनुगमन टोलीले बुधबार साँझ मार्टमा अनुगमन गर्दा प्यान/भ्याट बिलविना कारोबार भइरहेको भेटिएपछि सिएलाई नियन्त्रणमा लिएको हो ।
अनुगमनपछि प्रशासनले मार्टमा सिलबन्दीसमेत गरेको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाले एक चिनियाँ नागरिक पक्राउ गरेर थप अनुसन्धान भइरहेको बताए । उनका अनुसार पक्राउ परेका सिएलाई काठमाडौँस्थित अध्यागमन विभागमा पठाउने तयारी गरिएको छ ।
अनुसन्धानका क्रममा भने योनो मार्टमा देखिएको कारोबार र सिएसहित चिनियाँ नागरिकले नेपालमा सञ्चालन गरेको भनिएको आईटी व्यवसायबीच सम्बन्ध रहेको आशङ्का गरिएको छ । सुरक्षा स्रोतका अनुसार खुद्रा व्यापारमा विदेशी लगानी प्रतिबन्धित भए पनि आईटी कम्पनीका नाममा लगानी र व्यावसायिक भिसा लिएर नेपाल बसेका चिनियाँ नागरिकले वास्तविक रूपमा खुद्रा व्यापार सञ्चालन गर्दै आएका थिए । यो विषयमा सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको छ ।
उद्योग विभागको अभिलेखअनुसार २०८३ जेठ २२ गते काठमाडौँ महानगरपालिका–११ मा सूचना प्रविधिमा आधारित ‘सफ्टवेयर डेभलपमेन्ट’ उद्योग सञ्चालन गर्ने भन्दै २५ लाख रुपैयाँ कुल पुँजीको विदेशी लगानी स्वीकृत गरिएको देखिन्छ । त्यसमा झाओ सिउहुआईको ४० प्रतिशत, सिए कोङ्गिमनको ४० प्रतिशत र पक्राउ परेका जिङ्सियान सिएको २० प्रतिशत लगानी रहेको उल्लेख छ ।
यसअघि ‘तोङ आईटी ग्रुप प्राइभेट लिमिटेड’ कम्पनी २०८२ कात्तिक २३ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको र २०८२ फागुन १ गते उद्योग विभागबाट वार्षिक २४ वटा सफ्टवेयर प्याकेज उत्पादन गर्ने उद्देश्यसहित उद्योग दर्ता गरिएको अभिलेखमा उल्लेख छ । तर, सुरक्षा स्रोतका अनुसार उक्त कम्पनीले सफ्टवेयर विकासको काम नगरी चीनबाट घरायसी सामान ल्याएर खुद्रा व्यापार सञ्चालन गरेको आशङ्का छ ।
सरकारी अभिलेखअनुसार पक्राउ परेका सिए सन् २०२६ मार्च १२ मा पर्यटक भिसामा नेपाल प्रवेश गरेका थिए । पटक–पटक पर्यटक भिसा थपेका उनले सफ्टवेयर कम्पनीसम्बन्धी कागजातका आधारमा जुलाई २२ देखि अक्टोबर १९ सम्मका लागि व्यावसायिक भिसा लिएको पाइएको छ । मुख्य लगानीकर्ता झाओ सिउहुआई पनि आईटी कम्पनीकै नाममा व्यावसायिक भिसा लिएर नेपाल बसिरहेको स्रोतले जनाएको छ ।
विराटनगरको योनो मार्ट भने दोलखाको जिरी स्थायी घर भएका धीरेन बिकेको नाममा दर्ता रहेको पाइएको छ । स्रोतका अनुसार बिकेलाई चिनियाँ नागरिक झाओ र सिएले औपचारिक साझेदारका रूपमा प्रयोग गरेका थिए । पसल बिकेको नाममा रहे पनि लगानी, सामान आपूर्ति, चीनबाट आयात तथा दैनिक आर्थिक कारोबार चिनियाँ नागरिकले नै नियन्त्रण गर्दै आएको अनुसन्धानमा खुलेको दाबी गरिएको छ ।
सन् २०२६ जनवरीदेखि सञ्चालनमा आएको उक्त मार्टबाट विना बिल कारोबार गरी राजस्व छली गरिएको आशङ्का गरिएको छ । साथै, यही प्रकृतिको व्यवसाय धरान, इटहरी, बिर्तामोड र इनरुवासहित अन्य स्थानमा विस्तार गर्ने तयारीसमेत भइरहेको स्रोतले जनाएको छ ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले पक्राउ परेका सिएलाई काठमाडौँ लैजाने तयारी भइरहेको बताए । “अहिले साँझ ७ बजेको विमानमार्फत् काठमाडौँ पठाउने तयारी गरिएको छ” सहायक प्रमुख जिल्ला अधिकारी कोइरालाले बिहीबार भने, “पक्राउ परेका जिङ्सियान सिएलाई काठमाडौँ डिपोर्ट गर्ने तयारी छ । थप विषयमा अध्यागमन विभागले अनुसन्धान गर्नेछ ।”
यसैबीच वाणिज्य कार्यालयले राजस्व चुहावट तथा उपभोक्ता ठगीको कोणबाट अनुसन्धान अघि बढाएको छ । विदेशी लगानीसम्बन्धी कानूनविपरीत खुद्रा व्यापारमा संलग्नता, भिसाको उद्देश्यविपरीत गतिविधि तथा रकमको कारोबारबारे समेत अध्यागमन विभाग, आन्तरिक राजस्व कार्यालय र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई जानकारी गराएर थप छानबिन अघि बढाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।






























