विराटनगर । कोशी प्रदेश सरकारले स्वास्थ्य सेवा प्रवाहमा आमूल सुधार गर्ने लक्ष्यसहित प्रदेशका चारवटा अस्पताललाई ‘नमुना अस्पताल’ का रूपमा विकास गर्ने घोषणा गरेको छ ।
स्वास्थ्य मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री इन्द्रमणि पराजुलीले पाँचथर, सङ्खुवासभा, उदयपुर जिल्ला अस्पताल र मोरङको उर्लाबारीस्थित मदन भण्डारी ट्रमा अस्पताललाई नमुना अस्पताल बनाउने तयारी थालिएको जानकारी दिए ।
मन्त्री पराजुलीले प्रदेशको स्वास्थ्य संरचनालाई सुदृढ बनाउन ठूला अस्पतालहरूको स्तरोन्नतिको योजना सार्वजनिक गरे । जसअनुसार धनकुटा जिल्ला अस्पताललाई सय शय्यामा स्तरोन्नति गरी शिक्षण अस्पताल (टिचिङ हस्पिटल) को रूपमा विकास गरिनेछ भने झापाको भद्रपुरस्थित प्रादेशिक अस्पताललाई दुई सय शय्यामा विस्तार गरी स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइनेछ ।
त्यस्तै प्रदेशका सबै जिल्ला अस्पतालहरूलाई न्यूनतम् ५० शय्यामा विकास गर्दै विशेषज्ञ सेवा विस्तार गरिने योजना मन्त्रालयको छ । ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुका जिल्ला अस्पतालहरूमा तत्काल विशेषज्ञ सेवा विस्तार गरिने मन्त्री पराजुलीले प्रतिबद्धता जनाए ।
निःशुल्क रगत र जलन उपचार केन्द्र
प्रदेश सरकारले आम नागरिकलाई प्रत्यक्ष राहत पुग्ने गरी कोशी प्रदेशका नागरिकहरूलाई निःशुल्क रगत तथा रगतजन्य पदार्थ उपलब्ध गराउने कार्यलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । आगलागी तथा जलनका बिरामीहरूको सहज उपचारका लागि प्रदेशका सबै अस्पतालहरूमा जलन (बर्न) उपचार केन्द्र सञ्चालन गरिनेछ ।
विकट बस्तीहरूमा स्वास्थ्यको पहुँच पुर्याउन विशेषज्ञसहितको घुम्ती अस्पताल सेवा सञ्चालन गर्ने र हाल सञ्चालनमा रहेको विद्यालय नर्सिङ कार्यक्रमलाई विस्तार गर्दै प्रदेशका सबै विद्यालयमा पु¥याइने योजना मन्त्रालयले अघि सारेको छ । प्रादेशिक आयुर्वेद अस्पतालको स्तरोन्नति गर्दै जिल्लास्थित आयुर्वेद केन्द्रहरूलाई पनि व्यवस्थित अस्पतालको रूपमा विकास गरिने जनाइएको छ ।
अनुगमनका क्रममा आँखा अस्पतालहरूमा देखिएका समस्या समाधान गरी सेवा पुनः सञ्चालनमा ल्याइएको, जनशक्ति र औषधि–उपकरणको व्यवस्थापन गरिएको तथा अस्पतालहरूलाई मापदण्डअनुसार शय्या र सेवा अनिवार्य छुट्याउन निर्देशन दिइएको उनले स्पष्ट पारे ।






























