धरान । पछिल्ला आठ दशकमा ताप्लेजुङमा ‘भीषण आगलागीका घटना’ दर्जनभन्दा बढी रहेको विभिन्न अध्ययनहरूले देखाएको छ ।
बिहीबार ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा भीषण आगलागी हुँदा १० घर पूर्णरूपमा जलेर नष्ट भएका छन् । जसमा १७ परिवार विस्थापित भएको ताप्लेजुङका पत्रकार आनन्द गौतमले जानकारी दिए । हाल आगो नियन्त्रणमा आइसकेको जनाइएको छ ।
आगोबाट भएको क्षतिको सङ्कलन गर्ने काम भइरहेको छ । विद्युत् सर्ट भई स्थानीय लाक्पाचुङ (डण्डु) शेर्पाको घरबाट आगलागी सुरु भएको सहायक प्रमुख जिल्ला अधिकारी एवम् सूचना अधिकारी यादव भट्टराईले जानकारी दिए । जहाँ ५० घरधुरीभन्दा बढी रहेको छ ।
उनका अनुसार ८ घरधनीको १० वटा घर आगलागीमा परेका छन् । जहाँ ९ वटा परिवार भाडामा बस्दै आएका थिए । आगलागीबाट लाक्पाचुङसहित भीम लङ्वा, चन्द्रप्रसाद पौडेल, याम आङ्बुहाङ, घनश्याम खरेल, राजु शेर्पा र राजेन्द्र पौडेलको घर जलेको हो । जसमध्ये लाक्पाचुङ र भीमको दुई–दुईवटा घर जलेका हुन् । यो क्षेत्र ताप्लेजुङको सदरमुकाम फुङ्लिङबाट करिब १५ किलोमिटर पश्चिम दिशातर्फ पर्दछ ।
२०७७ साल फागुन १८ गते पनि यही क्षेत्रमा आगलागी भएको थियो । त्योबेला ३३ परिवारका ४९ वटा घरहरू जलेर नष्ट भएको मेरिङ्देन गाउँपालिकाका अध्यक्ष गणेश चोङ्बाङले तत्कालीन समयमा बताएका थिए । जहाँ ५५ परिवार घरबारविहीन भएका थिए । स्थानीय भोला पौडेलको घरबाट बिहीबार दिउँसोबाट आगो लाग्न थालेको थियो । आगोलाई नियन्त्रणमा लिनका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासीको संयुक्त प्रयासमा दमकलको सहायताले आगो नियन्त्रणमा लिइएको थियो ।
क्षतिको पूर्ण विवरण आउन सकेको छैन । २०७७ सालमा आगलागी भएको समयमा उक्त क्षेत्रमा ८७ वटा घरहरू रहेका थिए । २०७२ सालमा तोक्मेडाँडा क्षेत्रमा आगलागी हुँदा ४१ वटा घर जलेर नष्ट भएका थिए । यस्तै २०७७ पुस १४ गते पाथीभरा पर्वत क्षेत्र आसपासको जङ्गलमा पनि भीषण डढेलो लागेको थियो । उक्त डढेलोका कारण गाउँबस्तीमा पनि प्रवेश गर्ने खतरा भएको थियो । जहाँ हजारौँ हेक्टर वनक्षेत्र जलेको थियो ।
२०८२ साल वैशाख ८ गते फुङ्लिङ–१० स्थित सेवारो चोकमा एक बोलेरो गाडीले बिहानै विद्युत्को तार छोएपश्चात् आगलागी भएको थियो । उक्त आगोले गाडी पूर्णरूपमा ध्वस्त भएको थियो भने चार जनाको ज्यान गएको थियो । जसमा एकै परिवारका तीन जनाको ज्यान गएको थियो ।
दुई जना घाइते भएका थिए । यस्तै २०८२ मङ्सिर ३ गते फुङ्लिङ–४ (मिक्वाखोला) स्थित तेम्बा बजारमा आगलागी भएको थियो । इन्द्रकुमार साँवालगायतको चारवटा घर जलेका थिए भने करिब एक करोड बराबरको क्षति भएको थियो ।
त्यहाँका बूढापाकाका अनुसार ताप्लेजुङमा ठूलो आगलागी वि.सं. १९९४ मा भएको थियो । यस्तै १९९५, २००६ सालमा पनि वीरेन्द्र चोकक्षेत्रमा आगलागी भएको थियो । त्योबेला पनि थुप्रै घरहरू जलेको स्थानीयले बताएका थिए ।
यस्तै २०१३ सालमा पनि आगलागी हुँदा ७ वटा घर ध्वस्त भएका थिए । २०३५ सालमा पनि शान्तिटोल जोरधारा क्षेत्रमा चारवटा घर जलेर नष्ट भएका थिए । त्यसपश्चात् २०६० साल चैत १५ गते वीरेन्द्र चोकमा भीषण आगलागी भएको थियो ।
त्योबेला ४५ वटा घरहरू जलेर नष्ट भएका थिए । जसमा एक सय २९ परिवार विस्थापित भएका थिए । तत्कालीन समयमा ५५ करोड ५४ लाख ६४ हजार एक सय ४८ रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको थियो । २०६९ साल माघ २६ गते शेर्पाटोलमा आगलागी हुँदा ८ घर जलेर नष्ट हुँदा १८ परिवार विस्थापित भएका थिए ।
यस्तै २०७० साल कात्तिक १८ गते टुक्रेबजार क्षेत्रमा आगलागी हुँदा ५ घर जलेका थिए भने जसमा १७ परिवार विस्थापित भएका थिए । यस्तै २०७१ साल चैत ९ गते अर्को भीषण आगलागी भएको थियो । फुङ्लिङ–४ तोक्मेडाँडामा आगलागी हुँदा ३७ वटा घर जलेका थिए भने बारुणयन्त्र प्रवेश गराउनका लागि थप ७ वटा घर भत्काइएका थिए । जसमा ४४ वटा घर नष्ट हुँदा एक सय ४५ परिवार विस्थापित भएका थिए ।
यस्तै २०७७ वैशाख १९ गते पुरानो बैङ्क लाइन क्षेत्र नजिकै आगलागी हुँदा सात घर जलेका थिए भने बारुणयन्त्र प्रवेशका लागि एउटा घर भत्काइएको थियो । जसमा २९ परिवार स्थापित भएका थिए ।






























