सङ्खुवासभा/ सङ्खुवासभा जिल्लाको पाँचखपन नगरपालिकाका लिङ्लिङ, खप्टुवा, खमारे, खानीगाउँ, अर्चले, डाँडागाउँलगायत ठाउँका बासिन्दाले पाँच वर्षयता पानीको चरम समस्या झेल्दै आएका छन् । वडानम्बर ४, ५, ६ र ७ मा खानेपानीको अभाव ज्युँका त्युँ छ । यहाँका करिब ३ हजारभन्दा बढी परिवारले खानेपानी अभाव झेलिरहेका छन् । हिउँद लागेपछि यहाँका स्थानीयलाई पानीको चिन्ता बढ्न थाल्छ ।
पानीको यतिसम्म अभाव हुन्छ कि हिउँदका लागि वर्षायाममा नै पानी सञ्चित गर्नुपर्ने बाध्यता छ । हिउँदमा केटाकेटीदेखि वृद्धवृद्धासमेतलाई बिहान र बेलुका पानी भर्न लाइन बस्नुपर्ने बाध्यता हटेको छैन । घण्टौं समय लाग्ने कुवा पुगेर पानी नपाउँदा रित्तै फर्किनु पर्ने उनीहरूको दुःखेसो कुनै काल्पनिक कथा जस्तो मात्र लाग्छ । तर यथार्थमा भोग्नेहरू चाहिँ पानी पाउनु युद्ध जितेसरह ठान्छन् । पानीकै कारण छिमेकीसँग पटक–पटक विवाद हुने गरेको छ । कतिपयको त बोलचालसमेत बन्द भएको छ ।
लिङ्लिङ बजारमा दिनमा तीनघण्टा पाइपबाट पानी आउँछ । पाइपमा आएको पानी थाप्न उनीहरूले समय तालिका बनाएका छन् । आफ्नो पालोमा पानी थाप्न नभ्याए पानीको मुहान खोज्न र पानी जोहो गर्न दिन बित्ने गरेको स्थानीय बबिता राई(श्रेष्ठ) ले बताइन् ।
मानिसलाई मात्र होइन, घरपालुवा चौपायालाई समेत पानी खुवाउन उनीहरूले समस्या झेलिरहेका छन् । नजिकका कुवाधारा सुकेकाले चौपायालाई पानी खुवाउन मुहान चहार्दै हिँड्नु पर्ने उनीहरूको बाध्यता रहरजस्तै बनेको छ । आँगनमा पानी नआउँदा गाईवस्तुलाई पानी खुवाउन धारा, कुवा खोजेर हिँड्नु परेको उनीहरू बताउँछन् ।
हिउँदमा बेलाबखत पानी पर्दा यहाँका स्थानीयहरू आकाशे पानीको पर्खाइमा बसेका किसानहरूभन्दा बढी खुशी देखिन्छन् । स्थानीय टङ्कमाया तामाङका अनुसार मौकाले परेको पानी थाप्न कुनै प्रतियोगितामा भाग लिए जसरी हतार गरिरहेका हुन्छन् । उनी भन्छिन्, ‘कुवामा को अगाडि पुग्ने भन्ने होडबाजी नै चल्ने गरेको छ । ढिलो पुग्नेले पानी भर्न पाउँदैनन् । दिनको बढीमा चार–पाँच घण्टा कुवामा जम्मा हुने पानीले सबैलाई पुग्दैन ।’
पानीकै लागि यहाँका स्थानीयहरू बसाइँ जाने क्रम दिनानु दिन बढिरहेको छ । खानेपानी अभाव समाधान गर्न नसके अझै बसाइँ सर्नेको सङ्ख्या बढ्ने देखिन्छ । वडा नं. ४ खानीगाउँका गङ्गाबहादुर विक, गोपाल विक, चन्द्र श्रेष्ठ, गणेश विक, भीम श्रेष्ठ, गङ्गा श्रेष्ठलगायत १० परिवार बसाइँ हिँडेका छन् । अन्य परिवार पनि बसाइँ हिँड्न लागेको स्थानीय इन्द्रबहादुर विश्वकर्मा बताउँछन् । उनका अनुसार पाँच वर्षयता पानीका मुहान सुक्ने क्रम बढेकाले यस्तो अवस्था आएको हो । चैत–वैशाख महिनाका बेला तीन–चार घण्टा तलको सभाखोलाको पानी बोकेर ल्याउनु पर्ने कष्ट यहाँका स्थानीयले झेल्दै आएका छन् ।
तर पाँचखपन नगरबासीको खानेपानी समस्या समाधान गर्न नगरपालिकाले वाना बिहीबारे बृहत् खानेपानी आयोजना शुरु गरेको पाँचखपन नगरपालिकाका मेयर विपिन राईले बताए । उनका अनुसार योजना सञ्चालनका लागि डिपिआर तयार गरिसकिएको छ । चाँडै खानेपानीको समस्या समाधान हुनेमा स्थानीय भने आशावादी रहेका छन् ।
यता पाँचखपन नगरपालिका–४ को वराहीगाउँका स्थानीयलाई खानेपानी समस्या समाधानका लागि मोटरेवल सिस्टममा पानी आपूर्ति गरिएको वडाध्यक्ष काजीबहादुर तामाङले बताए । मुहानमा रहेको ट्याङ्कीबाट मोटरको सहायताले पाँच सय मिटरमाथिको ट्याङ्कीमा पानी जम्मा गरिएको छ । जम्मा गरिएको पानीले यहाँका ३५ घरपरिवारलाई सहज भएको वडाध्यक्ष तामाङले बताए ।
२०७४÷०७५ को साढे पाँचलाख बजेटमा वराहीगाउँ खानेपानी आयोजना सफल भएको हो । यसवर्ष पनि मोटर खरिदका लागि वडाबाट एक लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । हिउँदमा पानीको अभाव हुन्छ भनेर नै उनीहरू वर्षाको समयमा आकाशको पानी ट्याङ्कीमा जम्मा गरेर राख्ने गर्छन् ।






























