यासोक पाँचथर/ आधुनिक प्रविधिको प्रयोग ग्रामीण क्षेत्रमा बढ्दै जान थालेको छ । पुराना र जीर्ण घरहरू आधुनिकतामा बदलिदै गएका छन् । परपरागत रूपमा खरको छानो लगाएका घरहरू क्रमशः विस्थापित हँुदै जान थालेका छन् ।

सुख्खा मौसमका कारण वनजङ्गल र बारीका कान्लामा घर छाउने खर उम्रन छोडेको छ । गाउँघरमा खर पाउन छाडेपछि मोहङ्गो र छाउन पनि झन्झटिलो भएपछि स्थानीयको रोजाइ जस्तापातामा पर्ने गरेको छ । यसको पछिल्लो उदाहरण हो पाँचथरको कुम्मायक गाउँपालिका । घर छाउने खर अभावमा जस्तापाताको प्रयोगले ग्रामीण बास्ती रङ्गिदै गएको छ । सजिलो र झन्झटिलो पनि नहुने भएकाले जस्तापाता सबैको रोजाइमा पर्ने गरेको छ । आगलागीको उच्च जोखिमबाट बच्न सहज हुने भएकाले खरको छानो विस्थापित गर्दै जस्तापाता लगाउन थालिएको छ ।

कुम्मायक गाउँपालिका सुख्खाक्षेत्र भएकाले पनि यो क्षेत्रमा जस्ता लगाउनेको सङ्ख्या वर्षेनी बढ्दै गएको छ । एक पटक लगाएपछि वर्षांैसम्म ढुक्क हुने भएकाले जस्तापाता सबैको रोजाइमा परेको कुम्मायक १ लुम्देखाका ज्ञानबहादुर बुढाथोकीले सुनाए । गाउँमा धेरै घर छन् । सबैले जस्ताले घर छाएका छन् । गाउँमा सडक, बिजुली र खानेपानीको सुविधा छ । कुनै समस्या छैन । ढुक्कले जस्तापाता लगाएर बस्न सकिन्छ ।

बसाइँ जानुपर्ने अवस्था छैन बुढाथोकीले भने । उनले बस्तीको बीचमा १२ लाख रुपैयाँ खर्च गरी आधुनिक घर बनाउँदै आएका छन् । त्यही घरमा हरियो जस्ता लगाउने भएका छन् । ‘सबै जना पानीको अभावमा बसार्इं सरे । तर, अहिले सडक, बिजुली र तमोरको पानी आएको छ । खरको छानोभन्दा जस्तापाता उत्तम लाग्यो, त्यसैले जस्ता पाता लगाउन लागेको छु, उनले भने । वर्षातको पानी सङ्कलन गर्न, हावाहुरी र आगलागीको जोखिमबाट बच्न सहज हुने भएकाले ग्रामीण बस्ती रङ्गिदै जान थालेका छन् ।

कुम्मायक गाउँपालिकाले पनि आर्थिक अवस्था कमजोर भएका विपन्न परिवारको घरमा जस्तापाता लगाउने अभियान ल्याएको छ । सुख्खाक्षेत्रमा यसको प्रयोग प्रभावकारी छ । कतिपय स्थानीयले ऋणपान गरेर व्यक्तिगत लगानीमा जस्ताको छानो लगाएका छन् भने विपन्न समुदायका नागरिकलाई गाउँपालिकाले अनुदानमार्फत् जस्तापाता वितरण गर्दै आएको छ ।

गाउँपालिकाका करिब ५ हजार घरधुरीमध्ये आधा भन्दा बढी घरधुरीले जस्ताको छानो लगाएका छन् । कुम्मायक ५ र ३ नम्बर वडाले अभियान नै सञ्चालन गरी वर्षेनी विपन्नलाई जस्तापाता वितरण गर्दै आएका छन् । कुम्मायक ५ मा ४४ घरधुरी र कुम्मायक ३ मा १४ घरधुरीलाई वडाले जस्तापाता वितरण गर्दै आएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।

त्यस्तै जिल्लाकै तुम्बेवा गाउँपालिकाले पनि विपन्न समुदायका नागरिकलाई निःशुल्क जस्तापाता वितरण गर्दै आएको छ । गत आर्थिक वर्षदेखि यो अभियानलाई सञ्चालन गरेको गाउँपालिका अध्यक्ष मोहनाथ थापाले बताए । गत आर्थिक वर्षमा ४५ घरधुरीलाई जस्तापाता वितरण ग¥यौं । ्यो आर्थिक वर्षमा पनि एक सय घरधुरीलाई वितरण गर्ने लक्ष्य लिएको थापाले बताए ।