भद्रपुर/ अव्यवस्थित तवरले छिमेकीले पालेका कुखुराका कारण अन्यलाई असर पु¥याए पनि स्थानीय सरकारले चासो नदेखाएको पीडितले बताएका छन् ।
झापा भद्रपुर–७ स्थित गणेश लम्सालको घर भाडामा लिएर सुनिल मल्लिक र कुमार मल्लिकले पालेका कुखुराले छिमेकी केदार पोखरेल, दीपा नेपाल पोखरेललगायतका बासिन्दा पीडित बनेका हुन् । छाडा छाडेका कुखुराले लगाएको अन्नबालीमा नष्ट तथा सागसब्जी र घर आँगनमा नै आएर फोहोर गर्ने गरेको उनीहरूको भनाइ छ । कुखुराले असर पु¥याएको विषयमा कुखुरापालक, घर साहुलाई पटक–पटक जानकारी गराए पनि अटेर गरेको केदार पोखरेलको भनाइ छ ।
घरधनी काठमाडौँमा बस्दै आएको उनले बताए । कुखुरापालकले ज्यान मार्ने धम्की दिने र कुखुरा हटाउन अटेर गरेपछि सुरक्षा र न्यायका लागि पोखरेलले फागुनमा जिल्ला प्रशासन कार्यालय र भद्रपुर न्यायिक समितिमा निवेदन दर्ता गराएका थिए । निवेदनसहित जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयमा पठाएको थियो । निवेदनका आधारमा मङ्गलबार दुवैपक्षलाई प्रहरीले भेला गराई मिलापत्र गराएको छ ।
मिलापत्रमा कुखुरापालकले तार बार लगाएर अन्य छिमेकीलाई असर नपु¥याउने सहमति भएको छ । सहमतिलाई अटेर गरेमा प्रहरीले कारबाही गर्ने उल्लेख छ । कुखुराका कारण धेरै पीडित भएको दीपाले बताइन् । जति नै भने पनि अटेर गरेको उनले बताइन् । छिमेकीलाई असर पु¥याएर पालेका कुखुरा तत्काल हटाउन उनले माग गरिन् । सयवटाको हाराहारीमा कुखुरा पाल्दै आएपनि छिमेकी केदारले विष हालेर र कुटेर धेरै वटा कुखुरा मरेको मल्लिक परिवारको दाबी छ ।
कुखुरा विस्तारै हटाउने उनीहरू बताउँछन् । कुखुरा पाल्न नभई घरमा बस्नमात्र भाडा लगाएको घरधनी अनिता लम्सालले बताइन् । छिमेकीले पटक–पटक कुखुराले असर पु¥याएको जानकारी गराएपछि उनीहरूलाई तत्काल घर खाली गर्न जानकारी दिइसके पनि अटेर गरिरहेको उनले बताइन् । समाजले जे निर्णय गर्छ, त्यो मान्न आफू तयार रहेको उनले सुनाइन् । कुखुरापालकलाई पटक– पटक घरमा नै गएर भने पनि अटेर गरेको वडा अध्यक्ष विनोदकुमार पोखेलले जनाए । छिमेकीलाई असर पु¥याएको उनले स्वीकार गरे ।
यता भद्रपुर नगर न्यायिक समितिले मिलापत्रको माध्यमबाट मुद्दा टुङ्गो लगाउन सकेन । वादी पोखरेलले तारिख बुझे पनि कुखुरापालक मल्लिक हाजिर नभएपछि सहमति नभएको न्यायिक समिति संयोजक तथा उपमेयर चन्द्रमाया श्रेष्ठले पीडितलाई दिएको पत्रमा उल्लेख छ । फागुन १९ र २२ गते छलफलमा बोलाए पनि नआएपछि पीडितलाई अदालत जान सिफारिस गरिएको पत्रमा जनाइएको छ ।
न्यायका लागि भद्रपुर नगरपालिका पुगेका पोखरेल र नगरप्रमुख जीवनकुमार श्रेष्ठबीच सोही विषयलाई लिएर विवादसमेत भएको थियो । विभिन्न रोगबाट ग्रसित ८० वर्षीया वृद्धालाई सम्झाउन नसकिएको नगरप्रमुख श्रेष्ठले बताए ।






























