विराटनगर/ कोरोना भाइरस सङ्क्रमणको त्रास फैलिएसँगै विराटनगरमा खाना पकाउने ग्यासको कृत्रिम अभाव उस्तै गरी चुलिएको छ ।

पछिल्लो एक सातामा १ सय १ वटा बुलेटमा ग्यास भित्रिएको नेपाल आयल निगम १ नम्बर प्रादेशिक कार्यालय विराटनगरका उपनिर्देशक चितरञ्जन दासले जानकारी दिए । गत फागुन २५ देखि चैत २ गतेसम्म भित्रिएको १ सय १ वटा बुलेटमा भित्रिएको ग्यास १ लाख ३२ हजार ५ सय सिलिण्डर हुन आउँछ । निगमको प्रादेशिक कार्यालयबाट पाँच वटा डिलरले एलपी ग्यास बिक्री गर्दै आएका छन् । पछिल्लो एक सातामा कोशी ग्यासले ८३८.५२ मेक्ट्रिक टन अर्थात् ४५ बुलेट ग्यास आयात गरेको छ । जसमा ५९ हजार ९ सय सिलिण्डर हुन आउँछ ।

यस्तै मारूती सुविधा ग्यासले ३ सय ८०. ३० मेक्ट्रिक टन अर्थात् २१ बुलेट ग्यास आयात गरेको नेपाल आयल निगम प्रादेशिक कार्यालयका उपसचिव दासले बताए । २१ बुटेल ग्यास २६ हजार ५ सय सिलिण्डर हुन आउँछ । यसैगरी २ सय २८ मेक्ट्रिक टन प्रिमा ग्यासको ९ बुलेट आयात भएको छ । जसमा १९ हजार ५ सय सिलिण्डर हुन आउँछ । १ सय ७७ मेक्ट्रिक टन रिजालको ग्यास ९ वटा बुलेटमा आयात भएको छ । यसमा १२ हजार ५ सय सिलिण्डर हुन आउँछ । २ सय १३ मेक्ट्रिक टन सुगम ग्यास ११ बुलेट आयात भएको छ । जसमा १५ हजार सिलिण्डर आयात भएको छ ।

ठूलो सङ्ख्यामा ग्यास नेपाल भित्रिएको निगमले जनाए पनि अहिले विराटनगरका बजारमा ग्यास छैन । कोरोना भाइरसका कारण आपूर्ति सहज नहुने भन्दै व्यापारीले बजारमा कृत्रिम अभाव सिर्जना गरेको उपभोक्ताहरू बताउँछन् । विराटनगरमा ग्यासको कृत्रिम अभाव सिर्जना गरी व्यवसायीहरूले कालोबजारी गरेको उपभोक्ताको आरोप छ । विराटनगरका पूर्णबहादुर खड्काले ग्यास नपाएर हैरान भएको बताए । ‘बजारमा ग्यास छैन, मास्क छैन, दैनिक उपभोग्य सामानको मूल्य बढ्दो छ’ उनले भने, ‘अनुगमन गर्ने समयमा सम्बन्धित निकाय मौन छ ।’

ग्यासका खुद्रा बिक्रेता सरलराज पोखरेलले हरेक उपभोक्ताले न्यूनतम् तीनदेखि ६ वटासम्म सिलिण्डर मौज्दात गरेपछि बजारमा माग बढेको बताए । ‘अहिले जति सिलिण्डर बजारमा लगिन्छ, त्यति बिक्री हुने अवस्था छ’ पोखरेलले भने, ‘विगतको नाकाबन्दी र आन्दोलनको समयमा भोगेको समस्या सम्झिएर उपभोक्ताहरू बढी आत्तिएको देखिन्छ ।’

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख हिमालय बरालले विराटनगरमा समय–समयमा अनुगमन भइरहेको र कालोबजारी नभएको दाबी गरे । ‘बजारमा हामीले अनुगमन गर्दै आएका छौं’ बरालले भने, ‘विराटनगरमा अभाव र कालोबजारी छैन ।’ बरालले कालोबजारी नभएको दाबी गरे पनि यहाँ ग्यासको अभाव भने चुलिएको छ ।