धरान/ लिम्बू समुदायका युवायुवतीबीच कसैको विवाह वा मेला पर्वमा भेट हुँदा पालाम गाउँदै धान नाच्छन् । तर धान नाच्नुअघि साइनो केलाइन्छ ।

साइनो नलाग्ने टुङ्गो भएपछि युवायुवती हात समातेर धान नाच्न थाल्छन् । त्यहीँबाट शुरु हुन्छ माया पिरती । कति सोल्टी–सोल्टिनीको यो माया पिरती सम्झनामै सीमित रहन्छ भने कसैको विवाहमै परिणत हुन्छ ।

लिम्बू भाषा, संस्कृतिमा आधारित फिल्म ‘के ः साङ्ला’ को कथामा चाहिँ यसैगरी भेट भएका सोल्टी सोल्टिनीको मायालाई हराएको च्याब्रुङ बजाउने गजो अर्थात् केः साङ्लाले अझै नजिक पु¥याइदिन्छ ।

मायाको चिनोका रूपमा रहेको के ः साङ्ला सोमबार धरानमा प्रदर्शन भयो । लोकेन साँवाले निर्देशन गरेको ‘केः साङ्ला’ मा लिम्बू समुदायका युवायुवतीबीच हुने माया–प्रेम र तानेर विवाह गर्ने प्रचलन प्रस्तुत गरिएको छ । च्याब्रुङ बजाउने गजो अर्थात् के ः साङ्लालाई मायाको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ ।

तेह्रथुमे धरान तुम्बाहाङ्फे समाजको आयोजना तथा याक्थुङ सिङ्गक फाउण्डेसन र आर स्क्वायर कलेक्सनको संयोजनमा धरानको गोर्खा सिनेप्लेक्समा सोमबार बिहान भएको विशेष प्रदर्शनीमा अग्रज कलाकार तथा निर्देशक प्रेम सुब्बा, नृत्य निर्देशक गोविन्द राई, के ः साङ्लाका निर्देशक लोकेन साँवा, फिल्मका नायक तथा निर्माता भीम तुम्बाहाङ्फेलगायतको उपस्थिति थियो । प्रदर्शनी कार्यक्रममा बोल्दै कलाकार प्रेम सुब्बाले लिम्बू भाषा र संस्कृतिमा बनेको के ः साङ्लाले लिम्बू समुदायका नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृतिबारे सचेत गराउने बताए ।

फिल्ममा भीम तुम्बाहाङ्फे, लक्ष्मी योङ्हाङ, विशाल सेनेहाङ, सनम पहाङ्गो, कुमार लुम्फुङ्वा, मेनुका साउदेन, गङ्गा तुम्बाहाङ्फे, महिमा लिम्बू, तुलसा लिम्बूलगायतको अभिनय रहेको छ । फिल्मका सिनेम्याटोग्राफर भूपेन्द्र तुम्बाहाङ्फेले पनि अभिनय गरेका छन् । अशोक लोहोरुङ राईको पाश्र्व सङ्गीत रहेको फिल्ममा दिनेश माङ्मुको मुख्य सहायक निर्देशन र कोरियोग्राफी तथा मनु नेम्वाङ, यासेली योङ्हाङ, श्रेयसी चेम्जोङको स्वर रहेको छ । फिल्मको कथा पनि निर्देशक साँवाकै हो भने सम्पादन विपिन मल्लले गरेका हुन् ।

फिफरानी तुम्बाहाङ्फे, विष्णुकुमार पङ्धाक, भीमकुमार तुम्बाहाङ्फे, सञ्जयकुमार तुम्बाहाङ्फेको निर्माण मा चोक्फुङ इन्टरटेन्मेण्ट प्रा. लि.को ब्यानरमा बनेको के ः साङ्ला यसअघि नै हङ्कङ, भारतको आसामका विभिन्न ठाउँ, काठमाडौं र पाँचथरमा प्रदर्शन भइसकेको छ । लिम्बू समुदायको संस्कार, संस्कृतिबारे युवापुस्तालाई सचेत गराउन र अन्य समुदायलाई समेत जानकार गराउन के ः साङ्लाको विशेष प्रदर्शनी गरिएको संयोजक मीना सिङ्गकले बताइन् ।