धनकुटा / पाख्रीवास नगरपालिका वडा नं.५ घोर्लिखर्कका वडाध्यक्ष गोपाल थापाले निर्दोष वडावासीलाई विना कारण प्रहरीमा उजुरी दिएर दुःख दिएको पीडितहरुले गुनासो गरेका छन् ।
पीडितहरुले गएको फागुण ४ गते राती घोर्लिखर्क निवासी स्थानिय सिद्धिचरण श्रेष्ठको घरमा छोरीको विवाह सम्पन्न भएको दिन त्यहाँ रहेको स्वास्थ्य चौकीको झ्यालको शिशा फुटाउने कार्यमा संलग्न भएको भन्दै झुटो आरोप लगाएर वडाध्यक्ष थापाले दुःख दिएको वताएका छन् ।
उनीहरुले आफुहरु स्वास्थ्य चौकीको शिशा फुटाउने कार्यमा संलग्न छैनौ, कस्ले फुटायो थाहा छैन, फुटाएको प्रमाण विना झुटो आरोप लाउन पाईन्दैन भन्दा पनि जवर्जस्ती प्रहरी लगाएर फागुण ५ गते पक्राउ गरी पाख्रीवास प्रहरी चौकी पु¥याएर यातना दिएर साँझ ७ वजे छोडेको उनीहरुको गुनासो छ ।
वडाध्यक्षको झुटो आरोपमा पक्राउ परेकाहरु पाख्रीवास नगरपालिका वडा नं.५ घोर्लिखर्कका वर्ष १८ का सुजन तामाङ, वर्ष १७ का सागर तामाङ, वर्ष २० का सुमन तामाङ, वर्ष १८ का दिपक थापा, वर्ष १३ का आयुष तामाङ, वर्ष १६ का राजु तामाङ, वर्ष २० का विशेष तामाङ, वर्ष २२ का प्रेम तामाङ, सुर्खेत जिल्ला नवियाचौर न.पा. वडा नं.५ घर भएका वर्ष २३ का प्रकाश खनाल र सोही स्थान वस्ने वर्ष १८ का सुनिल तामाङ रहेका छन् । उनीहरुलाई आवश्याक परेको वेला जुनै सुकै अवस्थामा कार्यालयमा हाजिर हुने शर्तमा फागुण ६ गते हाजिर गराएको पाख्रीवास प्रहरी चौकीका इन्चार्ज उज्वल शाक्यले ब्लाष्टलाई वताए । उनीहरुलाई ७ दिनसम्म अनुसन्धान गरेर छाड्ने गरी फागुण ९ गते चौकीमा कागज गरिए पनि अझैसम्म दोषी पत्ता नलागेको कारण तारिख कायम राखिएको इन्चार्ज शाक्यले वताए ।
उनीहरुलाई स्थानिय समाजसेवी ज्ञानवहादुर गुरुङको रोहवरमा स्थानिय लोकवहादुर तामाङ र निमा तामाङलाई जिम्मा लगाइएको वताईएको छ । पीडितहरुका अनुसार आफुहरुलाई वडाध्यक्ष गोपाल थापाले विना कारण झुटो आरोप लगाएर दुःख दिएको दावी गरेका छन् । उनीहरुलाई प्रहरीसम्म पु¥याएर याताना दिएको पिडित सागर तामाङले वताएका छन् । उनीहरुले आफुहरु सो घट्नामा संलग्न नरहेका दावी गर्दै, करिव १ महिना देखी प्रहरीको निगरानीमा वस्नु परेको भन्दै वडाध्यक्ष थापा माथि आक्रोस पोखेका छन् । सो विषयमा वडाध्यक्ष थापासंग ब्लाष्टले जानकारी लिँदा मैले देखेर त्यही केटाले गरेको हो, पक्राउ गरेर थुन भनेको हैन, स्वास्थ्य चौकीको शिशा फुटेको विषयमा आवश्याक अनुशन्धान गर्न प्रहरीलाई अनुरोध गरेको वताए । स्वास्थ्य चौकीमा गएर कस्ले वदमास गरेको हो, त्यो पत्ता लगाउने काम मेरो होईन,प्रहरीको भएको अध्यक्ष थापाले वताए ।






























