बेलबारी/ भौगोलिक रूपमा दुईखण्डमा विभाजित मोरङको केराबारी गाउँपालिका वडा नं. ९ लाई पुलले जोड्ने भएपछि स्थानीय वासिन्दाहरू खुशी रहेका छन् ।

भलुवा खोलाले छुट्याएको वडा नं. ९को देवीझोडा र खयरघारीलाई जोड्ने गरी पक्की पुल निर्माण हुने भएको छ । पुल निर्माणको लागि सर्वेक्षण कार्य बिहीबारबाट शुरु गरिएको छ । प्रदेश सरकारले पुल निर्माणको लागि २ करोड विनियोजन गरेको केराबारी गाउँपालिकाका उपाध्यक्ष शान्तिकुमारी लिम्बूले बताइन् । सर्वेक्षण कार्यमा केराबारी गाउँपालिकाका प्रवक्ता जङ्गराज भुजेल, वडाध्यक्ष मनोज खड्का, भुपतिन्द्र प्रताप मल्ल, प्रमुख प्रशासकीय अधिकृत पुण्यप्रसाद, प्राविधिक टोलीको उपस्थिति रहेको थियो ।

उक्त पुल निर्माणका लागि यस अघि गाउँपालिकाले समेत डिपीआर निर्माण गरिसकेको छ । केराबारी गाउँपालिका आफैले पुल निर्माणको लागि योजना गरेको थियो । तर, सय मीटरदेखि माथिको पुल प्रदेश सरकारले बनाउने प्रावधान रहेपछि प्रदेश सरकारले बजेट विनियोजन गरेको हो ।

यस अघि वडा नं. ९ र ३ लाई जोड्ने गरी भलुवा टोलदेखि पुल निर्माण गरिने चर्चा चलेपछि वडावासीबीच विवाद समेत उत्पन्न भएको थियो । प्रदेश सरकारले विनियोजन गरेको रकम वडा नं. ३ र ९ लाई जोड्ने डिपीआर तयार गर्न लागिएपछि विवाद उत्पन्न भएको हो ।

तर, गाउँपालिकाले खयरघारीमा नै पुल निर्माणका लागि यस अघि माटो परीक्षण समेत गरेको हुँदा स्थानीयको माग बमोजिम त्यहाँ पुल बन्न लागेको हो । मदन भण्डारी मार्ग निर्माणसँगै त्यसक्षेत्रमा पुल स्वतः बन्ने भएको र वडा नं. ९ लाई जोड्न खयरघारी पुल बनाउने गरी नै यसअघि गाउँपालिकाले डिपीआर बनाएको हुँदा निर्माण स्थल परिवर्तन गरिएको केराबारी ९ का वडाध्यक्ष भुपतिन्द्र प्रताप मल्लले बताए ।

पुल बन्ने स्थलको विषयमा अन्यौल हुँदा प्रदेश सरकारको बजेट फ्रिज हुन लागेको थियो । स्थानीय वासिन्दाहरुले जनप्रतिनिधिहरूलाई घच्घचाए पछि योजना स्थल परिवर्तन गरि निर्माण कार्य हुन लागेको हो ।

खयरघारीमा पुल नबनेकै कारण वडावासीहरूलाई वर्षातको समयमा आवात जावत गर्न गाह्रो हुँदै आएको छ । खोलाबाढीको समस्याका कारण वडा नं. ९ मा वडाको कामकारवाही दुई स्थानबाट हुँदै आएको छ । देवीझोडा र कुसुमेवासीको सहजताको लागि स्थानीय तहको निर्वाचन भए लगत्तै देवीझोडामा वडा कार्यालय स्थापना गरिएको हो । खयरघारीमा पुल निर्माण हुने भएपछि स्थानीय बासिन्दा खुशी रहेको स्थानीय भीम थापाले बताए ।

वडा नं. ९ गाउँपालिकाको सामरिक महŒव रहेको वडा हो । प्रचुर मात्रामा प्राकृतिक स्रोत साधन रहेको वडा नं. ९ स्थानीय तह निर्माण ताका बेलबारी नगरपालिकामा समाहित गर्ने अभियान चलेको थियो । पहिलो चरणको १३ वटा स्थानीय तह रहेको मोरङको खाकामा वडा नं. ९ बेलबारीमा समाहित भएको थियो । पछि सत्रवटा स्थानीय तह बनाउने क्रममा वडा नं. ९ लाई विभिन्न विकासका योजनाहरू ल्याउने सम्झौता गरी केराबारीमै फर्काइएको थियो ।