विराटनगर/ विराटनगरस्थित आरोहण गुरुकुलमा ‘महाभोज’ नाटक मञ्चन शुरु भएको छ ।

प्रदेश–१ सरकारसँगको सहकार्यमा मण्डला नाटक समूह नेपालले गुरुकुलमा बुधबारदेखि ‘महाभोज’ नाटक मञ्चन भएको हो ।
हिन्दी साहित्यकार मन्नु भण्डारीको उपन्यासलाई नेपाली भाषामा नाट्य रूपान्तरण विप्लव प्रतीकले गरेका हुन् । रङ्गकर्मी अनुप बरालले निर्देशन गरेको उक्त नाटक आज (बिहीबार) दिउँसो पनि मञ्चन हुनेछ ।

जनतालाई भोटबाहेक केही नदेख्ने राजनीतिकर्मी र बाँचुञ्जेल उत्पीडनमा पारिएकाहरूको कथालाई यो नाटकमा समावेश गरिएको छ । गरिब जनताको लासमाथि हुने राजनीतिमा नाटक केन्द्रित छ । करिब ४० वर्षअगाडि लेखिएको ‘महाभोज’ लाई तीन ‘पी’ (प्रेस, पोलिटिक्स र पुलिस ) मा बुनिएको छ । राजनीति, प्रहरी र पत्रकारिता कसरी एक–अर्कासँग जोडिएका छन् र त्यसको चक्रब्यूहभित्र जनता कसरी कैद छन् भन्ने कुरा नाटकमा देखाइएको छ ।

नाटक हेर्न प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई, प्रदेश–१ भरिका रङ्गकर्ममा सक्रिय कलाकार, साहित्यकार, विभिन्न राजनीतिक दलका प्रतिनिधि, विद्यार्थीलगायतको सहभागिता थियो । नाटकपछि बोल्दै मुख्यमन्त्री राईले नाटकले देशको वर्तमान अवस्थालाई देखाएको बताए ।

गत भदौमा काठमाडौंस्थित मण्डला नाटकघरमा मञ्चन भएको नाटक महाभोज समीक्षात्मक रूपमा सफल मानिएको सो नाटक दिल्लीस्थित राष्ट्रिय नाट्य विद्यालयले आयोजना गर्ने भारत रङ्ग महोत्सवको २१ औं संस्करणमा माघ २६ गते नयाँ दिल्लीमा र माघ २८ गते देहरादुनमा मञ्चन गरिने कार्यक्रम रहेको छ ।

नाटकमा रमेश बुढाथोकी, शेखर चापागाईं, दयाहाङ राई, राजन खतिवडा, दिया मास्के, बुद्धि तामाङ, प्रदीपकुमार चौधरी, विजय बराल, मिलन कार्की, आर्जेश रेग्मी, सागर दाहाल, प्रमिला खनाल, सोमनाथ खनाल, सन्दीप श्रेष्ठ, रिजन परियारलगायत कलाकारहरूको अभिनय रहेको छ ।