धरान । संयुक्त राज्य अमेरिककी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको भाषण च्यातिदिएकी छन् ।

राष्ट्रपतिभन्दा पछाडिको ‘रो’ मा बसेकी न्यान्सीले ट्रम्पले दिएको भाषण सबैको सामुन्ने च्यात्दै दुईबीचको मनमुटावलाई सार्वजनिक गरेकी छन् । राष्ट्रपतिको स्टेट अफ द युनियन भाषणको क्रममा एकअर्काबीचको मनमुटावलाई छर्लङ्ग पारेकी थिइन् । कार्यक्रम शुरु हुनुपूर्व न्यान्सीले राष्ट्रपति ट्रम्पसँग हात मिलाउन खोजे पनि ट्रम्पले नदेखेझै गरेपछि उनले त्यो रिस पोखेको प्रतिक्रिया दिनेहरू पनि छन् ।

त्यसक्रममा उनले राष्ट्रपतिलाई सम्मानका साथ बोल्नुपर्ने वाक्य ‘हाइ प्रिभिलेज एण्ड डिस्टिन्क्ट अनर’ समेत नभनी सिधै अमेरिकाका राष्ट्रपतिको रूपमा चिनाएकी थिइन् । त्यसपछि मात्रै ट्रम्पले बैठकको सम्बोधन गरेका थिए । यस घटनालाई लिएर अमेरिकामा थुप्रै टिप्पणीहरू शुरु भएका छन् । न्यान्सीले ट्रम्पमाथि महाभियोग प्रस्ताव पारित गरेकी थिइन् । तल्लो सदनबाट माथिल्लो सदनका लागि पठाइएको महाभियोग प्रस्तावमा रिपब्लिकनको बहुमत रहेको सिनेटले अस्वीकार गर्ने सम्भावना बढी छ ।