भण्टाबारी / ट्रकमा लिफ्ट दिएर २० वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ ।
पाँचथर घर भई झापा बस्दै आएकी २० वर्षीया युवतीलाई गाडीमा लिफ्ट दिएर बलात्कार गरेको भन्दै २८ वर्षीय उदयकुमार चौधरीविरुद्ध प्रहरीले बलात्कारसम्बन्धी मुद्दा दर्ता गरेको हो । बिर्तामोडबाट पोखरातर्फ जाँदै गरेको ट्रकबाट सीमा प्रहरी चौकी भण्टाबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बुधबार मध्यरातमा उनलाई नियन्त्रणमा लिएको थियो ।

युवतीले गाडी मालिकसमेत रहेका चौधरीको १६ हजार रुपैयाँ चोरी गरेपछि विवाद भएको प्रहरीको भनाइ छ । सोही क्रममा उनी सुनसरीको कोशी गाउँपालिका–८ स्थित भण्टाबारीबाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी तथा प्रवक्ता विनोद शर्माले ती युवतीलाई पाँच हजार रुपैयाँ लिएर एक रातसँगै बस्ने गरी रिक्सा चालकले गाडी मालिक र चालकसँग सम्पर्क गराइदिएको पाइएको बताए ।

डिएसपी शर्माका अनुसार बिर्तामोडको एक होटलमा गाडी ड्राइभर र मालिक चौधरी ती युवतीसँगै बसेका थिए । उनीहरू भोलिपल्ट पोखरा घुम्न जाने भनेर केटीलाई समेत लिई हिँडेका थिए । तर बाटोमा गाडी मालिकको १६ हजार रुपैयाँ केटीले चोरेपछि झगडा भएको र पछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको डिएसपी शर्माले जानकारी दिए । केटीले बलात्कारसम्बन्धी जाहेरी नदिए पनि प्रहरीले भने बलात्कार मुद्दा दर्ता गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले केटीलाई परिवारको जिम्मा लगाएको छ भने आरोपी चौधरी प्रहरी नियन्त्रण रहेका छन् ।