बिर्तामोड । लागूऔषध ब्राउन सुगरसहित ७ जनालाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ । ब्राउन सुगर ओसार पसार नियन्त्रणमा सक्रिय रहेको बिर्तामोड प्रहरीले बिहीबार एकैदिन ८ ग्राम २८ मिलिग्राम ब्राउन सुगर सहित ७ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले अर्जुनधारा र बिर्तामोड नगरपालिकाका तीन स्थानबाट लागू औषध ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ । अर्जुनधारा नगरपालिका वडा नम्बर ६ बाट सोही स्थानका प्रविण महतारा, देवराम बराइली र कनकाई नगरपालिकाका पंकज उप्रेतीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुको साथबाट २८ मिलिग्राम ब्राउन सुगर र २० ग्राम जति कमिला मार्न प्रयोग गरिने गेमासिन नामको बिषादी बरामद गरेको जनाएको छ ।

यसैगरी बिर्तामोड नगरपालिका वडा नम्बर ६ बाट सोही स्थानका प्रदिप थापालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए । उनले थापाको साथबाट ५ ग्राम ब्राउन सुगर बरामद भएको बताए ।

यस्तै बिर्तामोड नगरपालिका–५ बाट तीनजनालाई ब्राउन सुगर सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । प्रहरीले हल्दिवारी गाउँपालिका वडा नम्बर ३ का सन्तोष चुँडाल, सोही गाउँपालिका–४ का सौगात मगर र बिवेक राईलाई ३ ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जनाएको टछ । पक्राउ परेका ७ जनालाई नै इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा राखेर अनुसंधान शुरु गरेको प्रहरीले जनाएको छ ।