विराटनगर/ मोरङको धनपालथान गाउँपालिका–४ मा मदिरामा लठ्ठिएपछि ‘ग्याङ्फाइट’ हुँदा गम्भीर घाइते भएका ४२ वर्षीय विसुनदेव मुखियाको मृत्यु भएको छ ।

मादक पदार्थ सेवन (मापसे) पछि युवाहरूबीच विवाद उत्पन्न भई गत माघ ४ गते राति धनपालथान–४ स्थित एक होटलबाहिर ‘ग्याङफाइट’ भएको थियो । ग्याङ्फाइटमा दोहोरो झडप हुँदा मुखियासहित २ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये गम्भीर अवस्थाका मुखियाको उपचारका क्रममा विराटनगरको न्यूरो अस्पतालमा सोमबार राति मृत्यु भएको हो । घटनामा संलग्न ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय रङ्गेलीका इन्स्पेक्टर लेखनाथ दाहालले बताए ।

३० वर्षीय बलराम मुखिया, २४ वर्षीय धनीराम मुखियाको समूह र ३५ वर्षीय मणिचन महतो, ६० वर्षीय रामविलास महतो, ३२ वर्षीय शङ्कर महतो, २१ वर्षीय हरिओम महतो, २६ वर्षीय किसुन महतोको समूह बीच ‘ग्याङ्फाइट’ भएको थियो ।

घटनामा विसुनदेव, बलराम र किसुन तथा घटना छुट्याउन गएकी १५ वर्षीया जमुनाकुमारी महतो घाइते भएका थिए । न्यूरोमा उपचाररत बलराम र विसुनदेवमध्ये विसुनदेवको टाउकोको शल्यक्रिया गरिएको थियो । गोल्डेन अस्पतालमा उपचाररत विसुनको टाउकोमा सात टाँका लगाइएको थियो ।

प्रहरीका अनुसार कुसहरि मण्डलको होटलमा मादक पदार्थ सेवन गर्ने क्रममा दुई युवाहरू हरिओम र धनीरामबीच विवाद शुरु भएको थियो । होटलबाट निस्किएर अघि बढेका उनीहरूले फोन गरेर आ–आफ्ना मान्छेलाई बोलाएपछि दुवै पक्षबीच ‘ग्याङ्फाइट’ भएको अनुसन्धानबाट खुलेको इन्स्पेक्टर दाहालले बताए । दोहोरो कुटाकुटका क्रममा बाँस र ढुङ्गा हानाहान भएको प्रहरीले जनाएको छ ।

प्रहरीले धनीराम, मणिचन, रामविलास, शङ्कर र हरिओमलाई पक्राउ गरेर घटनाको अनुसन्धान शुरु गरेको जनाएको छ । उनीहरूको पनि शरीरका विभिन्न भागमा सामान्य चोट रहेका छन् । प्रहरीले घटनामा संलग्न मणिचन, रामविलास, शङ्कर र हरिओम महतो विरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन मङ्गलबार म्याद थप गरेर घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ । ‘ग्याङ्फाइट’ मा संलग्न अरूलाई पनि नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।