उदयपुर / उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको कार्यलयमा बम फेला परेको छ । गाउँपालिकाका अध्यक्षको कार्यकक्ष प्रवेशद्वार छेउमा लाईलनको झोला भित्र कुकुर बम फेला परेको हो ।
सोमबार विहान करिब ९ः ३० बजे कार्यालय सहयोगी गुमानसिंह भुजेलले कार्यालय खोल्ने क्रममा ढोका छेउ लाइलनको झोलामा शंखास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेको पालिकाले जनाएको छ । घटनाको जानकारी पाउनासाथ तत्काल प्रहरी घटना स्थल पुगी घटना स्थलाई सुरक्षा घेरा भित्र राखेको प्ररहीले जनाएको छ ।
पालिकाले राखेको मोनिटर भन्दा तल बरण्डामा लाइलनको दर्से झोला भित्र राखिएको कुकुरबाट निकालिएको तार मोबाईलमा जोडेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । बम डिस्पोजका लागि नेपाली सेनाका रणशार्दुल गण बोक्सेबाट खटेका बम डिस्पोजल टोली घटना स्थल पुगेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केशीले बताए ।
जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटेका प्रहरी टोली र सेनाका बम डिस्पोजल टोली घटना स्थल पुगेपनि रात परेका कारणले सोमबार बम डिस्पोज गर्न नसकिएको प्रहरीले जनाएको छ । उक्त स्थान पुग्न सदरमुकामदेखि करिब ६० किलोमिटर कच्चि सडक प्रयोग गर्नु पर्ने प्रहरीले जनाएको छ ।
डिस्पोज हुन नसकेको बम मंगलबार डिस्पोज गर्ने प्रहरीले जनाएको छ । अहिले घटना स्थल आसपासमा समेत सुरक्षा व्यावस्था कडा पारिएको डिएसपी केशीले बताए ।