जाजरकाेट / सडक निर्माणको बिल पास गरिदिने भन्दैं उपभोक्ता समितिसँग घुस लिने एक गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका श्रीमान् पक्राउ परेका छन् ।
जाजरकोटको जुनिचाँदे गाउँपालिका अध्यक्ष कृष्णबहादुर केसी रंगेहात पक्राउ परेका हुन । केसीलाई उपभोक्ता समितिसँग लिएको आठ लाख घुससहित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय सुर्खेतको टोलीले शुक्रबार वीरेन्द्रनगर–७ कटकुवाबाट पक्राउ गरेको अख्तियारले जानकारी दिएको छ ।
अध्यक्ष केसीसँगै गाउँपालिका उपाध्यक्ष शिवा आचार्यका श्रीमान् चन्द्रबहादुर बस्नेत पनि पक्राउ परेका छन् । दुवैको मेलेमतोमा घुस लिएको पाइएको छ ।

प्रदेश विकास परिषद्को बैठकमा सहभागी हुन वीरेन्द्रनगर आएका केसी बैठक नै छाडेर गाउँ पर्केका थिए । उपभोक्ता समितिका पदाधिकारीकै सहयोगमा गाउँपालिका अध्यक्ष केसी र उपाध्यक्षका श्रीमान् बस्नेतलाई पक्राउ गरिएको अख्तियार सुर्खेतका प्रवक्ता मेघनाथ सापकोटाले जानकारी दिए ।