धरान / धरानमा केही समययता ‘डिजे जेन’ का रूपमा चिनिएकी रेजिना याक्खा राई कोरियामा पुगेर विवादमा परिन् ।
रेजिनालाई कोरियाको बुसान किम्हेमा सञ्चालित ‘लुम्बिनी क्लब एण्ड लाइभ बार’ ले कलाकार भिषामा कोरिया लगेको थियो । सन् २०१९ को नोभेम्बर ९ मा क्लबको उद्घाटन कार्यक्रममा कोरिया पुगेकी रेजिनालाई आयोजकले जनवरी ३ मा नेपाल पठाउने तयारी गरेको थियो । तर रेजिना जनवरी १ को रातदेखि आयोजकसँग सम्पर्कविहीन भइन् ।

उनले आफ्नो फेसबुक एकाउण्टसमेत डिएक्टिभ गरिन् । रेजिना सम्पर्कविहीन बनेपछि कोरियामा उनी अवैधानिक रूपमा काम गर्ने मनसायले भागेको चर्चा चल्यो । उनलाई कोरिया निम्त्याउने आयोजकले उनलाई सम्पर्कमा आउन आग्रह गर्दै सामाजिक सञ्जाल र अनलाइन मिडियामार्फत् सूचना नै जारी ग¥यो ।

रेजिनालाई कोरिया बोलाउने लुम्बिनी क्लबकी सञ्चालक परी गुरुङले ‘आफूले बोलाएको कलाकारलाई केही अप्ठ्यारो परे आफूलाई पनि समस्या हुने र अवैधानिक रूपमा बसेमा कोरियाले नेपाली कलाकारलाई दिने भिसामा कडाइ गर्ने’ चिन्ता व्यक्त गर्दै कसैले रेजिनालाई देखे वा भेटेमा आफूलाई सम्पर्क गरिदिन आग्रह नै गरिन् ।

सञ्चालक परी गुरुङले यस्तो सूचना सार्वजनिक गरेको केही दिनपछि रेजिना सम्पर्कमा आइन् । परीले जनवरी १३ मा रेजिनालाई एयरपोर्टबाट बिदाइ गरेको फोटो पोष्ट गर्दै आफ्नो फेसबुकमा लेखिन्, ‘बाई बाई रेजिना याक्खा, नेपालसम्मको यात्रा शुभ रहोस् ।’ रेजिनाको बिदाइपछि धेरैले विवाद पनि सकिएको अनुमान गरेका थिए । तर रेजिना नेपाल आएपछि फेरि विवाद बल्झियो । रेजिनाको एकतर्फी भनाइका आधारमा केही अनलाइनमा उनीमाथि दुव्र्यवहार भएको आरोप लगाउँदै समाचार सार्वजनिक भएपछि सेलाउँदै गएको विवाद पुनः तात्तियो ।

रेजिनाले आफू कोरियामा लुकेको नभई असुरक्षित भएपछि सुरक्षित स्थानमा गएको बताएकी थिइन् । तर उनलाई कोरिया लैजाने लुम्बिनी क्लबकी सञ्चालक परी गुरुङ भने उनी भागेर अवैधरूपमा कोरिया बस्न खोजेपछि पक्राउ गरेर नेपाल फर्काएको दाबी गर्छिन् । कोरियामा रेजिनालाई चिन्नेहरूले पनि उनी लुकेर बस्ने योजना बनाएको बताए । कोरियामा रेजिना र परी दुवैलाई चिन्ने स्थानीयहरू रेजिनाको व्यवहारले आयोजकलाई नेपालबाट कलाकार बोलाउन गाह्रो हुन सक्ने बताउँछन् ।

रेजिना यसो भन्छिन्
‘मलाई कोरियामा सञ्चालन भइरहेको लुम्बिनी क्लबकी सञ्चालक परी गुरुङले ३ महिनाको लागि कार्यक्रम गर्न प्रस्ताव गरिन् । मैले एकदमै थोरै रकममा उहाँसँग एग्रिमेन्ट गरेकी थिएँ । सहमति हुँदा क्लबको बाहेक अन्य कार्यक्रम पनि गर्न पाउने सहमति भएपछि म कोरिया गएकी हुँ ।

तर कोरिया पुगेपछि मसँग भएको सहमतिअनुसार काम भएन । क्लबको काम नभएको बेला मलाई अन्य कार्यक्रम गर्न दिइएन । मलाई खोज्न आउनेहरूलाई पनि भेट्न दिइएन । मलाई हातपात पनि गरियो, कुर्सी उठाएर हान्न खोजियो । मेरो पासपोर्ट पनि खोस्न खोजिएपछि मैले आफूलाई असुरक्षित महसुस गरेँ । अनि फेसबुक र मोबाइल अफ गरेर साथी भएको ठाउँमा पुगेको थिएँ ।

परी भन्छिन्, ‘लुकेर बस्न खोजेको प्रमाण छ ।’

रेजिनालाई हप्तामा शनिबार र आइतबार २ दिन क्लबका डिजेइङका लागि मासिक ५० हजार पारिश्रमिक दिने एग्रिमेन्ट गरेर बोलाएको हो । तर उनले कुनै आइतबार काम गरिनन् । जम्मा ४ दिन शनिबार मात्र काम गरिन् ।

काम गर्ने समयमा अन्यत्र व्यस्त भएपछि बुझ्दा लुकेर कोरियामै बस्ने तयारी गरेको थाहा भयो । उनले शरणार्थी बनेर बस्ने बारे धेरैसँग सल्लाह पनि लिएको भेटियो । हामीले जनवरी ३ मा नेपाल पठाउने तयारी गरेको थाहा पाएपछि उनी जनवरी १ मै भागिन् । हामीले सार्वजनिक सूचना गरेर खोजी गर्दा अन्सानको मोटलको कोठा नं. ३१० मा भेटेपछि म, मनोज लिम्बू, सुरेश लिम्बू, सागर लिम्बू र डम्बर लिम्बू भएर उनलाई होटलबाट ल्यायौं । उनले काम नगरेपनि मैले ३ महिनाको लागि बोलाएको हो भनेर डेढ लाख पारिश्रमिक पनि दिएँ ।

त्यसपछि नेपाल फर्काएको हो । तर उनले नेपाल पुगेर उल्टै बदनाम गरिन् । मैले उनलाई कुनै दुव्र्यवहार गरेको छैन । पासपोर्ट खोस्न पनि खोजेको होइन । ममाथि हुँदै नभएको आरोप लगाइएको छ । अब त कलाकारलाई बोलाउन पनि डर लाग्यो ।