धरान/ सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सभामुख चयन गर्नै सकस भएको छ । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पदबाट राजीनामा नदिने अडान लिएपछि सभामुख चयन पेचिलो बनेको हो ।

उपसभामुख तुम्बाहाङ्फेले सभामुखका लागि आफू योग्य रहेको दाबी गर्दै आइरहेकी छन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीको साथ रहेको छ । आइतबार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सभामुखका विषयमा छलफल भएको थियो ।

शनिबार नै नेकपाको सचिवालय बैठकले उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिनका लागि निर्णयसहितको उर्दी जारी गरेको थियो । तर, उपसभामुख तुम्बाहाङ्फेले ‘राजीनामा किन दिने ?’ भन्दै उल्टो नेकपाको निर्णय फिर्ता लिन भनेपछि अध्यक्षद्वयलाई सभामुख चयन सकसपूर्ण बनेको हो ।

आइतबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा उपसभामुख तुम्बाहाङ्फेलाई बोलाइएको थियो । जहाँ नेकपाका अध्यक्षद्वय ओली, ‘प्रचण्ड’, उपप्रधानमन्त्री ईश्वर पोखरेल र नेकपाका महासचिव विष्णु पौडेललगातय रहेका थिए । बैठकमा पनि राजीनामा नदिने अडानलाई कायमै राखेकी थिइन् । नेताहरूले निकास दिनका लागि आग्रह गरेका थिए ।

तर, उनले आफूले कुनै गल्ती नगरेको र गल्तीको सजाय आफूले नभोग्नेसमेत बताएकी थिइन् । स्रोतका अनुसार राजीनामा दिनुपर्ने कारण स्पष्ट हुनुपर्ने अडान उपसभामुखले लिएकी थिइन् । उपसभामुखले सभामुखमा को चयन हुँदैछ भन्ने जानकारी पाउनुप¥यो । अन्यथा आफूले राजीनामा दिने कुरै नआउने बताएको स्रोतको भनाइ छ ।

नेकपाबाट सभामुखमा पूर्व सभामुखसमेत रहिसकेका सुवास नेम्वाङ र अग्नि सापकोटाको चर्चा रहेको छ । नेम्वाङ पूर्व एमालेका नेता हुन् भने सापकोटा माओवादी नेता हुन् । प्रम ओली नेम्वाङलाई सभामुख बनाउन लबिङ गर्दै आइरहेका छन् भने प्रचण्डले सापकोटालाई बनाउनका लागि लबिङ गरिरहेका छन् । जसका लागि उपसभामुखले राजीनामा दिनुपर्ने हुन्छ ।

अन्यथा संवैधानिक व्यवस्थाअनुसार सभामुख र उपसभामुख फरक–फरक दलको र दुईमध्ये एकमा महिला हुनुपर्ने व्यवस्था छ । सोही कारण सभामुख नेकपाले राख्नका लागि उपसभामुखलाई राजीनामा गराउन लागिपरेका छन् । उपसभामुख तुम्बाहाङ्फेले राजीनामा नगर्ने अडान लिएसँगै अध्यक्षद्वय थप तनावमा रहेका छन् ।

अहिले उनले राजीनामा नबुझाएको विषयमा सामाजिक सञ्जाल फेसबुक तथा ट्वीटरहरूमासमेत नेकपाका नेताहरूले आलोचना शुरु गरेका छन् । कतिपय नेताले उपसभामुखको शैलीलाई अभद्र भनेका छन् । सभामुख चयनमा समस्या भएपछि आइतबारको लागि डाकिएको संसद् बैठकसमेत माघ ६ गतेसम्मका लागि स्थगित गरिएको छ ।

अब उपसभामुखले राजीनामा नदिएमा समानुपातिक सांसद् भएका कारण सांसद्बाट हटाउन नेकपाले निर्वाचन आयोगलाई पत्र पठाउने वा महाअभियोग लगाएर हटाउने विकल्पमात्रै बाँकी रहेको छ । र, सभामुख चयनको अर्को विकल्प पनि खुला छ । उपसभामुखलाई पार्टीले फिर्ता बोलाइसकेको छ । कृष्णबहादुर महरा बलात्कार काण्डमा मुछिएपछि राजीनामा दिएका कारण सभामुख पद खाली रहेको छ ।