इटहरी । सुनसरीको इटहरी–२ मा रहेको माया घर नेपाललाई विपद्मा परेका बेला मानव उद्धार तथा अन्य प्रयोजनका लागि इटहरीका व्यवसायीले विद्युतीय रिक्सा सहयोग गरेका छन् ।
बजाज शोरुमका सञ्चालक प्रदिपकुमार सन्थलीयाले विपद्को बेला बिरामी बोक्न, मानव उद्धार तथा पुनस्र्थापनामा टेवा पुर्याउन तीनचक्के विद्युतीय ईरिक्सासहित खाद्यान्न र लत्ताकपडा प्रदान गरेका हुन् । प्रमुख अतिथि कोशी प्रदेश प्रहरी प्रमुख डिआइजी ईश्वर कार्कीले उक्त सामग्री माया घरलाई हस्तान्तर गरेका थिए ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले पनि केही खाद्यान्न र लत्ताकपडा वितरण गरेका थिए । उनले माया घरमा आश्रित व्यक्तिलाई सेनिटरी प्याड बनाउने तालिम दिने घोषणा पनि गरेका छन् ।
माया घरमा हाल १ सय ३७ जना बेसहारा ,अशक्त तथा सुस्त मनस्थितिहरूले आश्रय लिँदै आएको संस्थाकी अध्यक्ष सुभद्रा प्याकुरेलले जानकारी दिइन् ।