सुनसरी । रामधुनी मन्दिर परिसरमा निर्माणका लागि शिलान्यास भएको ‘निमकरोली बाबाको मन्दिर’ का विषयमा रामधुनी नगरपालिकाका प्रमुख शङ्करलाल चौधरी रक्षात्मक बनेका छन् । 

गत वैशाख २९ गते आयोजित शिलान्यास कार्यक्रममा नगर प्रमुख चौधरीसहित नगरका अधिकांश पदाधिकारी उपस्थित थिए । उक्त शिलान्यास कार्यक्रममा ‘निमकरोली बाबा मन्दिर तथा धर्मशाला शिलान्यास कार्यक्रम’ भनी लेखिएको थियो । मन्दिर तथा धर्मशालाको शिलान्यास गर्न कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल आइपुगेका थिए । कार्यक्रममा मण्डलसहित नगर प्रमुख चौधरी, उपप्रमुख तारा थापालगायत उपस्थित थिए । रामधुनीको इतिहास त्रेतायुगसँग जोडिएको छ । विशेषगरी उदासी सम्प्रदायका वनस्खण्डी बाबाहरूले मन्दिरको मौलिकता तथा ऐतिहासिकतालाई जोगाउँदै आएका छन् । 

शिलान्यासपश्चात् रामधुनी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष डिल्ली कार्कीले शुक्रबार पत्रकार सम्मेलन गरेरै निमकरोली बाबाको मन्दिरका विषयमा आपत्ति जनाएका थिए । उक्त विषयले मिडियामा स्थान पाएको थियो भने कतिपय सामाजिक सञ्जालहरूमा पनि आएको थियो । जसले गर्दा वातावरणमन्त्री मण्डलसहित नगर प्रमुख, उपप्रमुखहरूको तीव्र आलोचना भएको थियो । उक्त आलोचनापश्चात् भने नगर प्रमुख चौधरीले रक्षात्मक बन्दै सोमबार विज्ञप्ति जारी गर्दै समाचारको खण्डन गरेका छन् । 

उनले विज्ञप्तिमा भनेका छन्, ‘निमकरोली बाबाको मन्दिर स्थापना गर्ने नभई धर्मशाला निर्माण कार्य सुरु गरिएको हो । रामधुनी मन्दिर क्षेत्रको धार्मिक गरिमा कायम राख्दै पर्यटन प्रवद्र्धन गर्न खोजिएको हो ।’ चौधरीका अनुसार रामधुनी मन्दिर परिसरमा मन्दिर नभई धार्मिक पर्यटकीय स्थलको रूपमा विकास गर्न तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) अनुसारको धर्मशाला निर्माण कार्य अघि बढाइएको हो । 

गुठीका अध्यक्ष कार्कीले रामधुनी मन्दिरको ऐतिहासिकता, मौलिक धार्मिक पहिचानलाई मेटिने गरी मन्दिर निर्माण गर्न खोजिएको आरोप लगाएका थिए । उनले मन्दिरको संरचना बन्न नदिनेसम्मको चेतावनी दिएका थिए ।

नगर प्रमुख चौधरीले निमकरोली बाबाको मन्दिर निर्माण नगर्ने भन्ने दाबी गरे पनि गत वर्षको मङ्सिर १९ गते कार्यपालिकाको बैठकले ‘मन्दिरको डिपीआरसमेतलाई असर नपर्ने गरी’ धर्मशाला बनाउन निमकरोली बाबा सेवा समितिलाई अनुमति दिने निर्णय गरेको थियो । उक्त निर्णयका विषयमा भने विज्ञप्तिमा कुनै पनि कुरा खुलाएका छैनन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘नगरपालिकाले निमकरोली बाबाको मन्दिर स्थापना गर्न जग्गा दिने कुनै निर्णय नगरेकोसमेत प्रष्ट पार्दछु ।’ 

उनले थप भनेका छन्, ‘पवित्र धार्मिक स्थल रामधुनी मन्दिरलाई पर्यटकीय धार्मिक स्थलको रूपमा विकास गर्न बनाइएको डिपीआरअनुसार नै धर्मशाला निर्माण गर्न मिति २०८२/०१/२९ गते कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलद्वारा शिलान्यास गरिएको हो ।’