इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–१४ स्थित शान्ति सिर्जना माध्यमिक विद्यालयका प्रधानाध्यापक कमल तिम्सिना पदमुक्त बनेका छन् ।
प्रअ आफैलाई चोख्याउन दायर गरेको रिट उच्च अदालतले खारेज गरेसँगै उनी पदमुक्त बनेका हुन् । यसअघि उपमहानगरले कारबाही गरे पनि उनी अदालतकै स्टे–अर्डरको भरमा प्रअको हैसियतअनुसार विद्यालयमा काम गरिरहेका थिए । ८० लाख बढी रकम अपचलन प्रकरणमा आफू निर्दाेष रहेको भन्दै हालेको रिट गत २०८२ वैशाख १५ गते उच्च अदालतको संयुक्त इजलासले खारेज गरेसँगै प्रअ तिम्सिना पदमुक्त बनेका हुन् ।
उच्च अदालत विराटनगरका रजिष्ट्रार जगदीशप्रसाद भट्टले दिएको जानकारी अनुसार न्यायाधीश श्रीधराकुमारी पुडासैनी र न्यायाधीश केशवप्रसाद बास्तोलाको संयुक्त इजलासले प्रअ तिम्सिनाको रिट खारेज गरिदिएको हो । ८० लाख बढी रकम अपचलन गरेको आरोपमा गत २०८१ पुस ११ गते उपमहानगरले पदबाट मुक्त हुनेगरी प्रअ तिम्सिनालाई कारबाही गरेको थियो । उपमहानगरको कारबाही चित्त नबुझेको भन्दै तिम्सिनाले पुस १४ गते आइतबार उच्चबाट स्टे–अर्डर ल्याएर पुनः प्रअकै हैसियतमा काम गरिरहेका थिए ।
अदालतको आदेशबाट उनी पदमुक्त भएसँगै विद्यालयमा नयाँ प्रअ नियुक्तिको बाटो खुलेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमतुल मियाँले जानकारी दिए । उपमहानगरको शिक्षा शाखा प्रमुख रमेशकुमार साहले अदालतले गरेको फैसलाको पूर्णपाठ प्राप्त भएसँगै नयाँ प्रअ नियुक्ति प्रक्रिया थालिने बताए ।
आर्थिक वर्ष २०७९/०८० मा शिक्षकको तीन महिनाको तलबबापत इटहरी उपमहानगरले विद्यालयलाई सात लाख ३६ हजार छ सय ६३ रुपैयाँ प्रदान गर्नुपर्नेमा भुलवश ८८ लाख २४ हजार २ सय ४३ रुपैयाँ भुक्तानी दिएपछि प्रअ तिम्सिनाको फटाइँ बाहिरिएको थियो ।
भुक्तानी दिएको २२ महिनापछि मात्रै उपमहानगरले झण्डै ८० लाख बढी रकम विद्यालयको खातामा जम्मा भएको थाहा पाएपछि प्रअ तिम्सिनालाई सो रकम फिर्ता गराउन पटक–पटक पत्राचार गरेको थियो । विद्यालयको खातामा ८८ लाख बढी रकम गएको समाचार बाहिरिएपछि एमालेलगायत जनप्रतिनिधिहरूले विरोध गरेका थिए । इटहरीका ३६ वटा सामुदायिक विद्यालयमा छ करोड ३० लाख ६१ हजार छ सय ६० रुपैयाँ भुक्तानी गरिएकै बेला सो विद्यालयमा भने भुलवश ८८ लाख बढी रकम जम्मा हुन पुगेको नगरले जनाएको थियो ।