बिर्तामोड । मोवाइल चार्ज गर्ने पावर बैंकमा लुकाएको अवस्थामा इलाका प्रहरी कार्यालयले ठुलो परिमाणमा ब्राउन सुगर बरामद गरेको छ । प्रहरीले बिर्तामोड–६ का रुपेश बिश्वकर्माको घरबाट पावर बैंकमा प्याकिङ गरेर राखेको अवस्थामा १ सय १३ ग्राम ९० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।
बिर्तामोड ५ को रत्न सुपर मार्केटमा ब्राउन सुगर बिक्री गरिराखेको भन्ने सुचना पाएको इप्रका अनारमनीले बिश्वकर्मालाई पक्राउ गरेको थियो । प्रहरीलाई प्राप्त सुचना अनुसार रत्न सुपर मार्केटमा रहेका बिश्वकर्माको साथबाट १ ग्राम ६ सय ६० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । उनले सो परिमाणको ब्राउन सुगर १५ वटा प्लाष्टिकको थैलोमा पोको पारेको अवस्थामा फेला पारेको झापाका प्रहरी प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिए ।
बिश्वकर्माको साथबाट ब्राउन सुगर फेला पारेपछि प्रहरीले उनको घरमा खानतलासी गरेको थियो । उनको कोठमा रहेको स्टीलको दराजको माथील्लो खुल्ला भागमा पट्टाएर राखेको लुगा भित्र लुकाई छिपाई राखेको अवस्थामा पावर बैंक फेला परेको श्रेष्ठले बताए । प्रहरीले फेला पारेको पावर बैंक फुटाएर हेर्दा १ सय १२ ग्राम ४३० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो । प्रहरीले ब्राउन सुगर तथा विश्वकर्मालाई समेत नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।