ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका २ फुलबारीकी मन्दिरा अधिकारीको हत्या आरोपमा पक्राउ परेका रमेश अधिकारीलाई प्रहरीले सार्वजनिक गरेको छ । आईतवार जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले अधिकारीलाई सार्वजनिक गरेको हो । गत मंसिर १७ गतेदेखि वेपत्ता भएकी १९ वर्षीया अधिकारीलाई खोजी गरिदिन भन्दै उनको अभिभावकले मसिंर २३ गते फोटो सहित प्रहरीलाई निवेदन दिएको आधारमा खोजतलास गर्ने क्रममा सोहि गाउँपालिका ३ हाङ्पाङका रमेश अधिकारीलाई प्रहरीले गत पौष ९ गते पक्राउ गरेको थियो ।
२७ वर्षिय अधिकारीलाई व्याक्ति बेपत्ता पारेको कसुरमा जिल्ला अदालत ताप्लेजुङबाट हिरासतमा राख्न म्याद थप गरि अनुसन्धान कार्य जारी रहेको ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी ज्ञानेन्द्र फुँयालले जानकारी दिए । फुँयालका अनुसार अभियुक्तले मन्दिरा अधिकारीको हत्या गरि तमोर नदिको पूलवाट नदिमा फालिदिएको स्विकारेका छन् ।
कसरी भएको थियो घटना ?
प्रहरीका अनुसार रमेश र बेपत्ता मन्दिराविच गहिरो प्रेम सम्वन्ध रहेको खुलेको छ । गत मसिंर १७ गते रमेश फुङ्लिङ बजारबाट फर्किने क्रममा मन्दिरालाई सम्पर्क गरि सेसम्बू र फुलवारी जोड्ने तमोर नदीको पूलपारी भेट्ने योजना बनाए । सोहि योजना अनुसार उनिहरु विच भेट भएको र भेटका क्रममा विवाद भएपछि रमेशले मन्दिराको हत्या गरि तमोर नदीको पूलवाट नदीमा फालेको बयान दिएका छन् । रमेशले अर्कैसँग विवाह गर्ने भएपछि उनीहरुबीचमा विवाद भएको पाइयो, डिएसपी फुयाँलले भने, ‘सोहि विवादले घटना निम्त्याएको अनुसन्धानबाट खुलेको छ ।’
रमेशले प्रहरी समक्ष दिएको वयान पछि उनलाई नै लिएर घटनास्थल पुगेको प्रहरीले घटना भएको भनिएको मित्ला खेतमा मन्दिराले लगाएको आउटर, उनले कपालमा लगाउने चिम्टी, टप, चप्पल र छोरा मान्छेले हातमा लगाउने पञ्जा घटनास्थलमा फेला पारेको छ । हत्या भएको भनिसकिएकी मन्दिराको शव भने अहिले सम्म फेला परेको छैन । प्रहरी र स्थानीय वासीन्दाले तमोर नदीमा खोजी कार्य जारी राखे पनि हाल सम्म उनको शव भने फेला पारि सकेका छैनन् ।
निमावी अस्थायी करार दरवन्दीमा हाल हाङपाङमा कार्यरत रमेश गत चैत्र महिना सम्म फुलवारी स्थित गुप्तेश्वर माध्यमिक विद्यालयमा अस्थायी करार पदमा रहेर शिक्षण पेशा गर्थे । दुई वर्ष सम्म चोकपुर स्कुलमा कार्यरत रहँदा उनी सोही स्कुल नजिकैको मन्दिरा अधिकारीकै घरमा बसेका थिए ।
हत्या पछि रमेशले गरेका थिए अपहरणमा परेको नाटक
मंसिर १७ गते मन्दिराको हत्या आफुले नै गरेको स्विकारिसकेका हाङपाङका रमेश अधिकारीले सोही दिन राती आफु अपहरणमा परेको नाटक समेत गरेका थिए । आफु अपहरणमा परेको र अपहरणकारीको पञ्जावाट उम्कन सफल भएको भन्दै हत्या पछि हाङपाङ पुगेर उनले अपहरणमा परेको नाटक गरेको प्रहरी अनुसन्धानवाट खुल्न आएको छ ।
मन्दिरा बेपत्ता भएकै दिन उनले हाङपाङ स्थित खोक्सेखोला नजिकैको एउटा याक्सामा पुगेर आफु अपहरणमा परेर पनि भाग्न सफल भएको, भाग्दा लडेर वेहोस् भएको र होसमा आएपछि याक्सा सम्म आइपुगेको भन्दै करिव रातको एक वजे तिर गाँउलेलाई लिन आउन भनी फोन गरेका थिए ।
अपहरणकै क्रममा मुखमा माक्स लगाएकी एक केटीले आफ्नो औला टोकिदिएको समेत उनले गाँउलेलाई वताएका थिए । तर सो दिन उनी अपहरणमा परेको नभई अपहरणको नाटक मात्र गरेको समेत प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।
मन्दिराको शव खोजी कार्यजारी
अभियुक्त रमेशले आफूले फूलबारी पुछारमा हत्या गरेर शव तमोर नदीमा बगाएको बयानका आधारमा प्रहरी र स्थानीयले बिहीबारबाटै तमोर नदीमा शव खोजिरहेका छन् । आईतवार सम्म पनि मन्दिराको शव भेटिएको छैन ।
तमोर नदी किनारै किनार तेह्रथुम र पाँचथरको सीमा क्षेत्र इवाको पुछारसम्म पुगेर शव खोजेको मन्दीराका काका चन्द्र अधिकारीले बताए । तमोर नदी बग्ने जिल्ला तेह्रथुम, धनकुटा, पाँचथर, सुनसरीमा प्रहरीलाई शव खोजिमा सहयोग गरिदिन अनुरोध गरिएको डिएसपी फुँयालको भनाई छ ।
रमेशले देखाएको घटनास्थल पाथीभरा याङ्वरक र आठराई त्रिवेणी गाउँपालिकाको संगमस्थल फेनेबुङवेंशी छेउमा पर्छ । गहिरो नदिमा शव खोजतलासका लागि विशेषज्ञ टोली (गोताखोर) समेत झिकाउन पहल भैरहेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए ।