धरान / ‘सक्किगोनि’ का कलाकारद्वय कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेले ‘को बन्छ करोडपति’ बाट जितेको रकम क्रिकेट रङ्गशालाका लागि खर्चिने भएका छन् ।
धुर्मु–सुन्तली फाउण्डेशनले चितवनको भरतपुरमा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि जितेको रकम खर्चिन लागेका हुन् । एपी वानमा प्रसारण हुँदै आएको कार्यक्रमबाट उनीहरूले ८० हजार रुपैयाँ जितेका थिए । उक्त रकम क्रिकेट रङ्गशालाका लागि खर्चिने उनीहरूले बताएका हुन् । बिहीबार कलाकारद्वयले सामाजिक सञ्जालमार्फत् आफ्नो रकम रङ्गशालालाई दिने बताएका हुन् ।
यो क्रिकेट रङ्गशाला जनस्तरबाट निर्माण भइरहेकाले त्यसका लागि आफूहरूले खर्चिन चाहेको पनि बताएका छन् । उनीहरूले केही अघिसम्म ‘भद्रगोल’ नामक टेलिसिरियलमा काम गर्दै आएका थिए । तर, त्यसपछि त्यो सेटलाई छाडेर अहिले ‘सक्किगोनि’ मा काम गर्दै आएका छन् । उनीहरूले ‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’ भन्दै रकम प्रदान गरेका हुन् ।