भण्टावारी / सुनसरीको सीमा नाकाबाट भारततर्फ हुँदै आएको तस्करी रोक्न सुनसरी प्रहरीले सक्रियता देखाएको छ ।
जिल्लाका विभिन्न सीमा नाकाबाट सीमामा तैनाथ सुरक्षाकर्मीकै मिलेमतोमा तस्करी हुने गरेको समाचार आएपछि तस्करी रोक्न प्रहरीले सक्रियता देखाएको हो । दुईदिनको अन्तरालमा सुनसरी प्रहरीले भन्सार छलेर विभिन्न नाका हुँदै भारततर्फ लाँदै गरेको ७ लाखबढी मूल्यको चाइनिज स्याउ र नासपाती बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीबाट डिएसपी विनोद शर्मा नेतृत्वमा खटिएको प्रहरी टोलीले सोमबार घुस्की नाका हुँदै भारततर्फ लाँदै गरेको अवस्थामा ५ सय ६० केजी चाइनिज नासपाती नियन्त्रणमा लिएको थियो भने बिहीबार बिहान सीमा प्रहरी चौकी भण्टाबारी र इलाका प्रहरी कार्यालय लौकहीको सहयोगमा अस्थायी प्रहरी चौकी हरिपुरले ६ लाख ७७ हजार बराबरको चाइनिज स्याउ र नासपाती नियन्त्रणमा लिएको छ ।
को.१ ख ४७६४ नम्बरको ६ चक्के आइसर गाडीमा सुनसरीको लौकही नाका हुँदै ठूलो परिमाणमा चाइनिज स्याउ र नासपाती भारततर्फ लाँदै गरेको सूचनाका आधारमा कोशी गाउँपालिका–७ हरिपुरबाट दुई व्यक्तिसहित स्याउ र नासपाती बरामद गरेको सुनसरी प्रहरीले जनाएको छ । १ लाख ४१ हजार मूल्य बराबरको २८ सय ५० केजी नासपाती, ५ लाख ३६ हजार मूल्य बराबरको ५ हजार ३ सय ६० केजी स्याउ र गाडीसहित जम्मा १४ लाख ७७ हजार मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि सुनसरी भन्सार कार्यालय सेतुबन्ध कोशी ब्यारेजमा बुझाएको प्रहरीले जनाएको छ ।
६ चक्के आइसर गाडीमा चाइनिज स्याउ र नासपाती भन्सार छलेर लाँदै गर्दा चालक धरान उपमहानगरपालिका–७ का ३८ वर्षीय सन्तोष चौधरी र सहयोगी कोशी गाउँपालिका–६ श्रीपुरका उमेश यादवलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न सीमा नाकामा सुरक्षार्थ तैनाथ सुरक्षाकर्र्मीसँगकै सेटिङमा चाइनिज नासपाती र स्याउ तस्करी गराउने गिरोह सक्रिय छ । चाइनिज नासपाती र स्याउ नेपालको बाटोबाट अर्को मुलुक निकासी गर्न प्रतिबन्धित भए पनि सुनसरीका विभिन्न नाका हुँदै भारततर्फ तस्करी हुने गरेको सीमा क्षेत्रका स्थानीय बताउँछन् । नेपालका विभिन्न स्थानमा व्यापारिक प्रयोजनका लागि भन्दै तस्करहरूले नक्कली बिल बनाउने र सेटिङमा सीमा कटाउने गरेका छन् ।
उनीहरूले दिउँसो भण्डारण गरी राख्ने र रातको समयमा सुनसरीसहितका अन्य विभिन्न जिल्लाका नाकाबाट भारततर्फ कटाउने गरेका छन् । भारतीय बजारमा चाइनिज स्याउ र नासपातीको माग बढेकोले नेपालमा भन्दा दोब्बर मूल्यमा बिक्रीवितरण हुने गरेको हुँदा नेपालबाट भारततर्फ तस्करी हुने गरेको हो ।
चाइनिज नासपाती र स्याउ भारततर्फ लैजाँदै गर्दा नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि भन्सार बुझाएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता तथा डिएसपी बिनोद शर्माले जानकारी दिए । विभिन्न सीमा नाकाबाट नियमित रूपमा नासपाती र स्याउको तस्करी हुने गरेकोले नियन्त्रण गर्न सीमामा निगरानी बढाएको सुनसरी प्रहरीले जनाएको छ ।
विभिन्न वस्तुको निकासी गर्ने तस्करहरूले सीमा क्षेत्रमा तैनाथ सुरक्षाकर्मीसँग सेटिङ मिलाएरै तस्करी गर्ने गरेकाले सुरक्षाकर्मीको ध्यान तस्करीभन्दा जीविकोपार्जन गर्ने उद्देश्यले भारतबाट विभिन्न दैनिक उपभोग्य सामान ल्याउने गरिबमाथि मात्र पर्ने गरेको प्रहरीमाथि स्थानीयको आरोप छ । यद्यपि प्रहरीले भने आरोप निराधार भन्ने गरेको छ ।
































