राजविराज / तिब्र गतिमा गुडिरहेको जिप र मोटरसाइकल एक आपसमा ठोकिदा दुई जनाको ज्यान गएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको रुपनी गाउँपालिका खण्डमा पर्ने बीरेन्द्र बजार नजिकै मंगलबार राती १० बजेतिर स.१०प. ८२५ नम्बरको मोटरसाइकल र ज.१च. १३८१ नम्बरको जिप एक आपसमा ठोकिदा दुई जनाको ज्यान गएको हो ।
मृत्यु हुनेहरुमा सप्तरीको महदेवा गाउँपालिका ६ का २२ वर्षिय मोटरसाइकल चालक राकेश यादव र पछिल्लो सीटमा सवार सोही वडाका ३२ वर्षिय प्रभास यादव छन् । दुबैको स्थानिय गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय शम्भुनाथका इन्स्पेक्टर उत्तम कार्कीले जानकारी दिए ।
जीप चालक उदयपुरको कटारी नगरपालिका १ बस्ने ललित माझीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । बाक्लो हुस्सुका बेला तिब्र गतिमा गाडी चलाउँदा अनियन्त्रित भई सो दुर्घटना भएको प्रहरीको अनुमान छ ।
मृतक दुबैको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायणसिंह अस्पतालमै राखि दुर्घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसैगरी मंगलवार वसको ठक्करवाट एक मोटरसाईकल चालकको मृत्यु भएको छ ।
सुरुङ्गा नगरपालिका–२ स्थित कदमाहामा लहानतर्फ जादै गरेको ना २ ख १२६९ नम्बरको बसको ठक्करवाट ना ६५ प ९०४५ नम्बरको मोटरसाइकलका चालक सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–३ का ३५ वर्षीय अरुणकुमार शाहको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकलमा सवार १७ वर्षीया कल्पना शाह घाईते भएकी छिन् ।