धरान/ ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीले आफ्नो अनुयायी महिलालाई बलात्कार गरे नगरेको बारे प्रहरीले गरिरहेको अनुसन्धानको म्याद अब सकिन लागेको छ ।

यसअघि अनुसन्धान गर्ने सिलसिलामा प्रहरीले सिद्धबाबाको अनुसन्धान सकिएको भनेर मिसिल बुझाएको थियो । तर सरकारी वकिलको कार्यालयले अभियोग पूरक नभएको र पर्याप्त प्रमाण संलग्न नगरिएको भन्दै पुनः म्याद थप गरिएको थियो । प्रहरीले सरकारी वकिलको कार्यालयमा अनुसन्धानको मिसिल बुझाइसकेको अवस्था छ । सर्वत्र चासो बढेको बेला सम्भवतः पुस १२ गते अदालतले सिद्धबाबा प्रकरणको बारेमा आदेश दिनेछ ।

यतिबेला गिरी बलात्कार आरोप लागेका अभियुक्त भए पनि प्रहरीले हिरासतमा राख्ने आँट नगरेपछि बिरामीको बहानामा विराटनगरस्थित विराट नर्सिङ होमको डिलक्स रुमलाई नै हिरासत बनाएर बसेका छन् । सर्वसाधारण भए रातारात पक्राउ भएर हातमा हत्कडी लगाई चिसो र अँध्यारो हिरासतमा हुन्थे तर सिद्धबाबाको घटनामा यस्तो अवस्था नेपालमा बिरलै हुने गरेको छ । २५ दिने अनुसन्धानको समय सकिएपछि उनको बयान लिएर अदालतमा दोहोरो थुनछेक बहस हुनेछ । बहसपछि गिरीलाई साधा तारिखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि थुनामा राख्नेमध्ये एक आदेश अदालतले दिनेछ ।

यसैबीच ‘सिद्धबाबा’ गिरीविरुद्ध उजुरी दिने पीडित महिलाले प्रहरीले कमजोर मिसिल बनाएर सरकारी वकिलको कार्यालयमा बुझाएको आशङ्का व्यक्त गरेकी छन् । ब्लाष्टकर्मीसँग उनले भनिन्, ‘मैले उजुरी लिएर जाँदा शुरुमै मलाई अनेक बहाना गरेर अल्मल्याए । उजुरी लिन मानेनन् । उजुरी फिर्ता मात्र होइन, मलाई नै अपराधी झैं उल्टो केरकार गरे । तिनै प्रहरी अधिकृतहरूले अनुसन्धानको मिसिल फितलो बनाएका छन् ।

यसअघि पनि मैले अनुसन्धान अधिकृत परिवर्तन गर्न माग गरेकी थिएँ ।’ सिद्धबाबाको अनुसन्धान अधिकृतमा सुनसरीका डिएसपी विनोद शर्मा रहेका छन् । महिलाको आरोपबारे एसपी पोखरेलले त्यस्तो अश्लील शैलीमा पीडित महिलालाई कुनै प्रश्न नगरेको बताए । डिएसपी शर्माले आफूले बलियो प्रमाणसहित मिसिल तयार गरेकाले सिद्धबाबा पुर्पक्षका लागि थुनामा जाने दाबी गरे ।

२९ वर्षीया पीडित महिलाले भगवान प्राप्तिको नाममा सिद्धबाबाले आफूलाई बलात्कार गरेको बताइन् । उनले भनिन्, ‘सिद्धबाबामात्र बस्ने चतराको घरमा बलात्कृत भएपछि घोर अनर्थ भएको महसुस गरेर त्यस्ता अधर्मीलाई कानूनसम्मत दण्ड सजाय दिलाउन उजुरी दर्ता गर्न पुगेको हुँ । मलाई मेरा श्रीमान्ले पनि साथ दिनुभएको छ ।’

उनले सबैभन्दा पहिले काठमाडौं प्रहरीपरिसरमा उजुरी दिन पुगेकी थिइन् । परिसरले त्यसपछि सिआइबी (केन्द्रीय अनुसन्धान ब्यूरो) मा पठाएको थियो । त्यसपछि उनी सिआइबीको पत्र लिएर सुनसरी जिल्ला प्रहरी कार्यालयमा आफ्ना श्रीमान्सँग आएकी थिइन् । उनले भनिन्, ‘त्यसबेला सिद्धबाबाविरुद्ध आएको उजुरी लिन प्रहरीले समेत साथ दिएन ।

मुचुल्का उठाउन चतरा जाँदा पनि त्यहाँ भेला भएका पूर्व शिक्षा सचिव विश्वप्रकाश पण्डित, नेपाल बङ्गलादेश बैङ्कका पूर्व कार्यकारी अधिकृत गोविन्दबाबु तिवारी र डिएसपी शर्माकासाथ अन्य साधकहरूले मलाई तत्काल मुद्दा फिर्ता लिन निरन्तर दबाव दिए ।’ गिरीको प्रभावमा परेर प्रहरी अधिकृतहरूले समेत पटक–पटक आफूलाई मुद्दा फिर्ता लिन दबाव दिएको उनले बताइन् ।

उनले सुनसरीका एसपी यज्ञविनोद पोखरेल र डिएसपीको नामै किटेर अश्लील शैलीमा होच्याउँदै प्रश्न गरेपछि अनुसन्धान प्रक्रियाप्रति शुरुदेखि नै आफूलाई शङ्का लागेको बताइन् । प्रहरी अधिकृतहरूले नै चतराका सिद्धबाबा भगवान् हुन् भन्दै उनको विरुद्ध यस्तो नबोल्न दबाव दिएको पनि बताइन् । गत कात्तिक ४ गते सिद्धबाबाले ‘तिमीलाई मधुर भाव जागेको’ भन्दै बलात्कार गरेको पीडित महिलाले बताइन् ।

महायोग प्रशिक्षण लिँदै आएकीले उनलाई ‘मधुर भाव’ जागृत भएको गिरीले बताउँदै आएका थिए । उनले त्यसैको परिणामस्वरूप आफूले गिरीलाई साक्षात् कृष्ण भगवान् सम्झेर उनको प्रेममा लीन हुनका लागि म्यासेज गरेकी थिएँ । ती म्यासेजलाई गिरीले पटक–पटक महायोगको मधुर भाव भएको भनेर बताउँदै आएका थिए । मैले पनि भगवान् नै ठानेँ । तर बलात्कारजस्तो कुकृत्य भगवान्बाट होला भन्ने सोचेको थिइनँ ।’

बलात्कारपछि उनले सिद्धबाबाले ‘भगवान्को कृपा’ भएको बताएका थिए । आफू गिरीबाट बलात्कृत भएको जानकारी आश्रमका युवतीहरूलाई गराउँदा उनीहरूले यस घटनालाई सकारात्मक रूपमा लिन दबाव दिएको पनि पीडित महिलाले बताइन् ।