इनरुवा/ महिला अनुयायी बलात्कार गरेको आरोप लागेका ‘सिद्धबाबा’ भनिने सुनसरीको चतरास्थित रामानन्दाचार्य सेवा पीठका संरक्षक कृष्णबहादुर गिरी थप ३ दिन प्रहरी निगरानीमा बस्ने भएका छन् । गिरीलाई बलात्कार प्रकरणको अनुसन्धान गर्न अदालतले यो पाँचौं पटक म्याद थप गरेको हो ।

यसअघि सुनसरी जिल्ला अदालतबाट सात दिन, चार दिन, तीन दिन र सात दिन गरी २१ दिनको म्याद थप गरिएको थियो । गत कात्तिक ४ गते बलात्कार गरेको भन्दै मङ्सिर १३ गते एक महिलाले गिरीविरुद्ध सुनसरी प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीको आधारमा प्रहरीले मुद्दा दर्ता गरेर अनुसन्धान शुरु गरेको बताए पनि सर्वसाधारण राख्ने प्रहरी हिरासतमा भने राख्ने आँट गर्न नसकेपछि बलात्कारको आरोपी गिरी विराट नर्सिङ होमको ‘लक्जरी रुम’ मा उपचारको बहाना बनाएर बसेका छन् ।

अदालतले स्वास्थ्य अवस्थालाई कारण देखाउँदै प्रहरी निगरानीमा रहने गरी विराट नर्सिङ होममै राख्न आदेश दिँदै आएको छ । पछिल्लो पटक अदालतले कृष्णदासलाई तीन दिनको म्याद थपेसँगै उनलाई पुनः अस्पताल पु¥याइएको छ । उपचाररत अवस्थामै नियन्त्रणमा लिइएका कृष्णदासलाई प्रहरीले अदालतमा पेश गरेयता २१ दिनको समय अस्पतालमा प्रहरी निगरानीमै बितिसकेको छ ।

अस्पतालको भीआईपी क्याबिनमा डेरा जमाई बस्दै आएका सिद्धबाबा कृष्णदासलाई म्याद थपका लागि प्रहरीले अक्सिजनसहित एम्बुलेन्समा राखेर विराटनगरबाट जिल्ला अदालत सुनसरी ल्याउने गरेको छ ।

यसअघि सुनसरी प्रहरीले ७ दिनअगावै कृष्णदास उपरको अनुसन्धान सकिएको भन्दै इनरुवास्थित सरकारी वकिल कार्यालयमा मुद्दाको मिसिल बुझाइसकेको बताएको थियो । प्रहरीले सिद्धबाबा कृष्णदासको अनुसन्धान सकिएको भनेर मिसिल बुझाए पनि सरकारी वकिलको कार्यालयले भने प्रहरी अनुसन्धान अपूरो रहेको भन्दै अघिल्लो पटक दश दिनको म्याद थप मागेकोमा अदालतले ७ दिनको म्याद दिएको थियो ।

२५ दिनभित्र अदालतमा अभियोग पत्र बुझाइसक्नु पर्ने कानूनी प्रावधान रहेको छ । सरकारी वकिलको कार्यालयकै पहलमा सोमबार अपरान्ह अदालतमा उपस्थित गराइएका सिद्धबाबा कृष्णदासलाई अदालतले पुनः ३ दिनको म्याद थपेको हो । सिद्धबाबा कृष्णदास प्रकरण म्याद थपसँगै दिनदिनै पेचिलो बन्दै गएको छ ।

सरकारी वकिल गोकुल निरौलाका अनुसार सोमबार अदालतसमक्ष चार दिनको म्याद माग गरिएकोमा अदालतबाट तीन दिन म्याद थपको आदेश भएको छ । पछिल्लो पटक थप गरिएको ३ दिने म्याद समाप्तिसँगै अभियोग पत्र बुझाउनु पर्ने समयसीमा समाप्त हुनेछ । सार्वजनिक बिदा परेमा कार्यालय खुलेको दिन अदालतमा उपस्थित गराइनेछ ।

थप भएको समयसीमाभित्र सम्पूर्ण अनुसन्धानसहितको अभियोग पत्र सरकारी वकिलमार्फत् अदालतमा बुझाइएपछि कृष्णदासको बयान लिइनेछ । त्यसपश्चात् थुनछेक बहस शुरु हुने जिल्ला न्यायाधीवक्ता निरौलाले बताए । उनले सिद्धबाबा कृष्णदासको वीर्य र डीएनए परीक्षणका लागि नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको ल्यावको रिपोर्ट आइसकेको बताए ।

उनले प्रहरीले गरेको अनुसन्धानको मिसिलमा अभियोग पूरा भएको वा नभएको, कतिपय प्रमाण पुगे नपुगेको हेरिरहेको बताए । अनुसन्धानको म्याद २५ दिन हो । उनले अभियोग लगाएपछि अभियुक्त गिरीको बयान लिने, थुनछेक बहस हुने र त्यसपछि अदालतले आदेश दिने बताए ।

विवादमा आइरहने ४५ वर्षीय ब्रम्हचारी बताउने गिरीले आफूलाई जगद्गुरु, अनन्तश्री, आयुर्वेदका विज्ञ र विद्यावारिधि गरेको भनेर चिनाउँदै आएका छन् । उनीमाथि मिति नै फरक भएका दुई नागरिकता लिएको आरोपसमेत लागेको छ । गिरीले सुनसरी–मोरङ सिंचाइ आयोजनाको १३ बिघा जग्गा कब्जा गरेर नक्सा पास नगरी ८ करोड रुपैयाँ लागतमा १ सय २८ कोठे भवन निर्माण गरेका छन् ।