धरान / पूर्वकै ठूलो सौन्दर्य प्रतिस्पर्धा नेपाल आइस मिस पूर्वाञ्चलको दशौं संस्करणको आज (शनिबार) फाइनल प्रतिस्पर्धा हुँदैछ ।
धरान सभागृहमा आज साँझ हुने फाइनलका लागि प्रदेश १ का विभिन्न जिल्लाका २० सहभागी प्रतिस्पर्धा गर्दैछन् । उनीहरूलाई करिब एक महिना विभिन्न प्रशिक्षण दिएर फाइनलका लागि तयार गरिएको छ । उनीहरूलाई कोरियोग्राफर प्रियारानी लामाले कोरियोग्राफी गरिरहेकी छन् भने विभिन्न क्षेत्रका विज्ञहरूले प्रशिक्षण दिएका थिए ।

सिल्भर इण्टरटेनमेण्टको आयोजनामा सिजी ब्रुअरीको मुख्य प्रायोजन, वराह ग्रुपको प्रस्तुति तथा डिभाइन वाइन र ओम शान्ति कम्पनी लिमिटेड सिओल कोरियाको सह–प्रायोजनमा हुने प्रतिस्पर्धामा विजेताले मिस पूर्वाञ्चलको ताजसहित नगद २ लाख, फस्ट रनर अपले १ लाख र सेकेण्ड रनर अपले ५० हजार पाउने छन् भने अन्य टाइटल विजेताले नगद १५ हजारसहित विभिन्न गिफ्ट ह्याम्पर पाउने आयोजकले जनाएको छ ।

मिस पूर्वाञ्चल शुरु भएको एक दशक पुगेको अवसरमा आयोजकले कार्यक्रममा भव्य बनाउने जनाएको छ । मिस पूर्वाञ्चलका विजेता छान्न राष्ट्रियस्तरका चर्चित कलाकर्मी तथा विभिन्न क्षेत्रका विज्ञ निर्णायकका रूपमा रहेका छन् ।