राजविराज / बलात्कार प्रयासको आरोपमा पक्राउ परेका शम्भुनाथ नगरपालिका वडानम्बर १२ का अध्यक्षसहित तीन जनालाई जिल्ला अदालत सप्तरीले धरौटीमा रिहा गरेको छ ।
वडाध्यक्ष लक्ष्मी साह, नसिम मियाँ भनिने मोहम्मद नसिब मियाँ र अनिलकुमार राय १५–१५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् । जिल्ला अदालत सप्तरीका न्यायाधीश जवाहरप्रसाद सिंहको इजलासले तारिखमा राखी मुद्दाको पुर्पक्ष गर्नू भनी आदेश गरेको छ ।
उनीहरू तीनजना बिहीबार बेलुकी नै धरौटी बुझाएर रिहा भइसकेका छन् । स्थानीय एक महिलाले बलात्कार प्रयास गरेको भन्दै उजुरी गरेपछि प्रहरीले गत मङ्सिर २४ गते वडाध्यक्षसहित तीनै जनालाई पक्राउ गरेको थियो । वडाध्यक्षलाई पक्राउ गरेपछि स्थानीयले आन्दोलन गर्दै आएका थिए भने नगरपालिका कार्यालयले पत्रकार सम्मेलन गर्दै कामकाजसमेत ठप्प पारेको थियो ।