इनरुवा / सुनसरीका मालपोत प्रमुख ध्रुव कोइरालामाथि भएको दुव्र्यवहार तथा हातपातको घटनालाई नेपाल लेखापढी कानून व्यवसायी एशोसिएसन सुनसरीले ढिलासुस्तीको परिणाम भएको बताएको छ ।
एशोसिएसनले कार्यालय प्रमुखउपर लेखापढी व्यवसायीबाट भएको भनिएको दुव्र्यवहारको घटनालाई झुटो र भ्रामक आरोप भनेको छ ।

३१ औं साधारणसभाका क्रममा धारणा राख्ने संस्थागत प्रतिनिधि तथा पदाधिकारीहरूले एशोसिएसनका उपाध्यक्ष जिब्राइल अन्सारीमाथि लगाइएको आरोप निराधार भएको बताएका हुन् । आफूमाथि दुव्र्यवहार भएको भनी प्रहरीमा उजुरी दिएका कार्यालय प्रमुख स्वयम्को रवैया ठीक नभएको लेखापढी व्यवसायीको आरोप छ । उनीहरूले भूमिसुधार तथा मालपोत कार्यालय सुनसरीका प्रमुखको रवैया सेवाग्राहीलाई झुलाउने र ढिलासुस्ती लाद्ने प्रवृत्तिको रहेकाले सेवाग्राहीको आक्रोसलाई लेखापढीसँग दाँजिएको बताए ।

एशोसिएसनले शुक्रबार इनरुवामा ३१ औं साधारणसभाको आयोजना गरेको थियो । साधारणसभामा कार्यसमिति अध्यक्ष नारायणप्रसाद आचार्यले संस्थागत प्रतिवेदन प्रस्तुत गरेका थिए । आचार्यद्वारा प्रस्तुत प्रतिवेदनमा संस्थाले विगतका वर्षहरूमा खेल्दै आएको भूमिकाको स्मरण र चर्चासहित भए गरेका प्रगतिलगायतका बारेमा उल्लेख गरिएको छ । प्रतिवेदनमा संस्थागत र लेखापढी कानून व्यवसायीहरूको समग्र हितमुखी कार्यमा जोड दिइएको छ ।

राज्यबाट गरिएको विभेद र पेशा व्यवसायमा झेल्दै आउनुपरेका समस्यालाई गम्भीर रूपमा लिइएको बताउने आचार्यले संस्थागत हित र पेशा व्यवसायको सुनिश्चितताका लागि एकताबद्ध भई अघि बढ्नुको विकल्प नरहेको अध्यक्ष आचार्यको प्रतिवेदनमा उल्लेख छ ।

साधारणसभामा कोषाध्यक्ष रेवतीरमण पौडेलले आर्थिक प्रतिवेदन पेश गरेका थिए । आर्थिक प्रतिवेदनमा आर्थिक वर्ष २०७५/७६ को अनुमानित आय–व्यय पेश गरिएको थियो । २२ लाख ८५ हजार ५ सय आय र १८ लाख ८८ हजार व्ययसहितको आर्थिक विवरण साधारणसभामा प्रस्तुत गरिएको थियो । एशोसिएसनको यस आ.व.को पुँजीगत कोष ८४ लाख ९९ हजार ८ सय ९३ रहेको जनाइएको छ ।

साधारणसभामा राजकुमार पोखरेल, हरिप्रसाद पोखरेल, नारायणप्रसाद निरौलाका साथै वडानम्बर ३ का अध्यक्ष कालुराम गुरुङलगायतको उपस्थिति रहेको थियो । मालपोत सुनसरीका प्रमुख धु्रव कोइरालाले जिब्राइल अन्सारीले आफूमाथि दुव्र्यवहार गरेको भन्दै प्रहरीसमक्ष कारबाहीको माग गर्दै निवेदन दिएका छन् । निवेदन दिएका कोइराला भने हाल बिदामा रहेको बताइएको छ ।