भद्रपुर / एनसेल टावर आगजनी तथा विष्फोट गराएको आरोपमा पक्राउ परेका नेकपा विप्लव समूहका दुईजना कार्यकर्ता पक्राउ परेको चार महिनापछि धरौटीमा रिहा भएका छन् ।
झापाको बेलडाँगीस्थित एनसेल टावरमा आगजनी तथा अन्य संरचना विष्फोट गराएको आरोपमा जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेका समूहका कोषाध्यक्ष दमक–४ का २८ वर्षीय पुकार योञ्जन तामाङ र नगरइञ्चार्ज सोही नगरपालिका–२ का ३० वर्षीय विनोदकुमार राई झापा जिल्ला अदालतबाट धरौटीमा रिहा भएका हुन् ।

प्रहरीले उनीहरूलाई गत साउन २० गते दमकबाट नियन्त्रणमा लिई भदौ २९ मा झापा जिल्ला अदालतमा विष्फोटक पदार्थ कसूरमा मुद्दा दर्ता गराएको थियो । मुद्दा दर्ताको भोलिपल्ट अदालतले थुनछेकको आदेशबाट जनही ३० हजार नगद धरौटी खुलाएको थियो । तत्काल धरौटी बुझाउन नसकेपछि उनीहरूलाई भदौ ३१ गते झापा कारागार चलान गरिएको थियो । कारागारमा रहेकै समयमा पुस २ गते अदालतमा धरौटी रकम बुझाएपछि पुस २७ गते हाजिर हुने गरी अदालतले तारिख दिएको अदालतका श्रेस्तेदार दुर्गाप्रसाद खनालले जानकारी दिए ।