सङ्खुवासभा /  पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा पछिल्लो समय विप्लवको चन्दा आतङ्क बढेको छ ।
प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका कार्यकर्ताले जिल्लाका विभिन्न नगरपालिका तथा गाउँपालिकाका जनप्रतिनिधि र व्यापारीहरूले चन्दा माग्दै फोनबाट धम्की आउने बताएका छन् । विप्लवका कार्यकर्ताले पटक–पटक फोनबाट चन्दा माग्ने गरेको भन्दै प्रहरीसमक्ष उजुरीसमेत गरेका छन् ।

विप्लव कार्यकताले गत मङ्सिर २५ गते राति मादी नगरपालिका वडानम्बर ५ को कार्यालय र एक स्काभेटरमा समेत आगजनी गरेका छन् । आगजनीबाट वडा कार्यालयको भवन, कागजपत्र, फर्निचर, कम्प्युटर, फोटोकपी, प्रिण्टर, मोबाइल फोनलगायतका सामग्री जलेको थियो । आगजनीबाट २ करोड बराबरको क्षति भएको मादी नगरपालिकाका नगरप्रमुख विदुर सुब्बाले जानकारी दिए ।

प्रहरीले आगजनी, तोडफोड गर्ने र चन्दा माग गर्ने कसैलाई पनि पक्राउ गर्न सकेको छैन ।
त्यसैगरी केही समयअघि विप्लव कार्यकर्ताले चन्दा नदिएको भन्दै पाँचखपन नगरपालिकाको को.१ झ ५४० नम्बरको गाडी तोडफोड गरेका थिए । विप्लव कार्यकताले पाँचखपनका नगरप्रमुख, उपप्रमुख र वडाध्यक्षहरूलाई पटक–पटक फोन गरेर चन्दा आतङ्क मच्चाएको स्रोतको भनाइ छ । चन्दा नदिए भौतिक कारबाही गर्नेसमेत धम्की आएको पाँचखपनका एक जनप्रतिनिधिले बताए । उनीहरूले ज्यान जोखिममा रहेको भन्दै खुलेर भन्न सक्ने अवस्था नभएको बताएका छन् ।

विप्लव कार्यकर्ताले चैनपुर, मादी, धर्मदेवी नगरपालिकाका जनप्रतिनिधिसँग फोनबाट चन्दा माग्ने गरेको र चन्दा नदिए भौतिक कारबाही गर्ने धम्की आउने बताएका छन् । गत असार १६ गते सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवा खोलाको होयाङ्लामा प्रहरी र विप्लव समूहबीच गोली हानाहान भएको थियो ।

व्यापारीसग १५ लाख माग
विप्लवसम्बद्ध कार्यकर्ताले चैनपुर नगरपालिकाका एक व्यापारीसँग १५ लाख चन्दा मागेको बताइएको छ । पटक–पटक फोन गरेर चन्दा माग्ने गरेको उनले बताए ।
विप्लव कार्यकर्ताले चन्दा नदिए भौतिक कारबाही गर्ने धक्की दिएपछि उनी प्रहरीसमक्ष आएको स्रोतले जनाएको छ । उनको नाम भने खुलाइएको छैन । उनलाई विप्लव कार्यकर्ताले पुस १ गते १५ लाख बुझाउन अल्टिमेटम दिएको स्रोतको भनाइ छ । त्यस्तै विप्लव कार्यकर्ताले जिल्लाका ठेकेदारलाई समेत फोनबाट चन्दा माग गरेको पाइएको छ ।

दर्जन विप्लव कार्यकर्ता पक्राउ
प्रहरीले विप्लवका दर्जन बढी कार्यकर्ता पक्राउ गरिसकेको छ । प्रहरीले विप्लवका सङ्खुवासभा इञ्चार्ज देव गुरुङ र जिल्ला सदस्य सुनिता राईलाई काठमाडौंको गौशालाबाट पक्राउ गरेको छ । विप्लवका कार्यकर्ता निमदोर्जी तामाङ, बुद्धिमान तामाङ, सञ्जय तामाङ, लेखबहादुर राउत, सुजन विक र कोशी ब्यूरो सदस्य डिबी सिलवाल पक्राउ परेको स्रोतको भनाइ छ । त्यसैगरी प्रहरीले पाँचखपन नगरपालिका–४ जलजलाका यामप्रसाद गौतमलाई विष्फोटक पदार्थसहित पक्राउ गरेको छ ।